आइतवार, जेष्ठ ६, २०८१

माछा महोत्सव आरम्भ

काठमाडौं, १६ माघ । मत्स्यपालनको विकास समृद्ध राष्ट्रको आधार भन्ने नाराका साथ  राजधानीमा दोश्रो राष्ट्रिय मत्स्य महोत्सव सुरु भएको छ ।
काठमाडौंको नयाँ बानेश्वरमा सुरु महोत्वसको उद्घाटन गर्दै राष्टिय योजना आयोगका सदस्य डा. भारतेन्द्र मिश्रले जलस्रोतमा धनी मुलुक नेपालमा माछापालन व्यवसायको भविश्य उज्वल रहेको बताए ।
नेपालको मत्स्य व्यवसाय हालको अवस्थासम्म आइपुग्नुमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको उनको भनाइ थियो । अन्य व्यवसायको तुलनामा कम जनशक्तिबाटै वढीभन्दा बढी फाइदा लिन सकिने माछापालन व्यवसायतर्फ पछिल्लो समय आकर्षण बढिरहेको पनि उनले बताए ।
उनले माछापालनको विकास र विस्तारका लागि आवश्यक कार्यक्रमसहितको प्रस्ताव लिएर आए योजना आयोग  व्यवसायीलाई सहयोग गर्न तयार रहेको बताए । नेपाल कृषि अनुसन्धान परिषद(नार्क) का कार्यकारी निर्देशक डा. टेकबहादुर गुरुङले सरकारबाट पर्याप्त  सहयोग हुन नसकेकाले अपेक्षाअनुसार माछापालन व्यवसायले गति लिन नसकेको बताए । सरकारी निकायको संस्थागत क्षमता विकास हुन नसक्दा यस्तो अवस्था आएको उनको भनाइ थियो तर पनि  साधन स्रोतले भ्याएसम्म नार्क मत्स्य विकास र विस्तारमा क्रियाशिल रहेको उनले बताए ।
मत्स्य विकास निर्देशनालका निर्देशक रामानन्द मिश्रले माछापालनको विकास र विस्तारमा निजी क्षेत्रले नै अग्रसरता देखाउनुपर्नेमा जोड दिँदै सरकारबाट नीतिगत र अन्य सहयोग जारी रहने बताए । मत्स्य व्यवसायी जालन्धर सिंहले भने अन्य व्यवसायको तुलनामा कृषि क्षेत्र सरकारका साथै बैंक तथा वित्तीय क्षेत्रबासमेत उपेक्षित रहेको गुनासो गरे ।
सरकारले प्रदान गर्ने अनुदान  तथा सहुलियत कृषि कर्जा किसानले पाउन नसकेको उनको भनाइ थियो । उनले भने– कर्जाका लाथि वैक तथा वित्तीय संस्थाहरुले शहरी क्षेत्रको घरजग्गा धितो माग्ने गरेका छन्, ग्रामीण किसानसँग त्यस्तो धितो हुँदैन, घितो नहुनेले कर्जा पाउने कुरै भएन । कतिपय बैंक तथा वित्तीय संस्थाहरुले कृषि कर्जाका नाममा अन्यत्रै लगानी गरेको आंशकासमेत उनले गरेका छन् । आयोजक संस्था नेपाल मत्स्य व्यवसायी संघका अध्यक्ष तुलसी गिरीले निजी क्षेत्रको निरन्तरको प्रयासले माछामा नेपाल आत्मनिर्भरतातर्फ अघि बढिरहेको र आगामी पाँचवर्षभित्र पूर्णरुपमा आत्मनिर्भर हुने बताए । नेपालमा माछा आयातमात्र नभई अहिले पनि नेपालबाट छिमेकी मुलुक भारतमा निर्यात भइरहेको र नेपाली माछाले भारतमा मूल्य पनि राम्रो पाएको उनले बताएका  छन् । उत्पादन बढाए माछाका लागि बजारको अभाव नहुने पनि उनले बताएका  छन् ।
उनले भने– हामीले आगामी पाँच वर्षभित्रमा नेपाललाई माछामा आत्मनिर्भर बनाउने घोषणा गरेका छौं र सरकार पनि सोहीअनुसारको नीति तथा कार्यक्रम तर्जूमामा लागिपरेको छ, जसका कारण माछापालनको भविश्य राम्रो देखिएको छ । माछापालन व्यवसायको विकास र विस्तारका लागि  छुटट्ै मत्स्य मन्त्रालय स्थापनामा पनि जोड दिएका छन् । साथै उनले मत्स्य व्यवसायको विकास र विस्तार लागि संघले अघि सारेका २८ सुत्रिय माग सम्वोधनका लागि पनि सरकारसँग माग गरेका छन् ।
कार्यक्रममा कृषि विभागका उपमहानिर्देशक तेजबहादुर सुवेदी, माछाविज्ञ प्राडा रामचन्द्र भुजेल, संघका उपाध्यक्ष  छोटेलाल चौहानलगायले माछापालन व्यवसायको विकास विस्तारमा जोड दिएका थिए ।

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७१