आइतवार, जेष्ठ ६, २०८१

व्यावसायिक घाँसखेतीका लागि घाँस विकास स्रोत केन्द्र स्थापना

बनेपा, १५ माघ । काभ्रेपलाञ्चोक जिल्लाको विभिन्न छ स्थानमा व्यावसायिक घाँसखेतीका लागि घाँस विकास स्रोत केन्द्र स्थापना भएको छ । जिल्लामा दुई वर्षदेखि घाँस मिसन कार्यक्रम सुरु भएपछि व्यावसायिक घाँसखेतीको सुरुवात भएको र घाँस विकास स्रोत केन्द्र स्थापना भएको हो । पशुपालनको पकेट क्षेत्र मानिने कुशादेवी, उग्रचण्डीनाला, गैरीविसौना देउपुर, महादेवस्थान, पाँचखाल, मेथिनकोट गाविसमा घाँसको व्यावसायिक विकासका लागि स्रोत केन्द्र स्थापना भएको जिल्ला पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकका पशु चिकित्सक मणिप्रसाद सापकोटाले जानकारी दिए । उनले ती स्रोत केन्द्रबाट घाँसका विभिन्न जातको बीउ विकास गर्ने र त्यसलाई विभिन्न सहकारी संस्था, दुग्ध उत्पादक सहकारी संस्था, पशु बीमा सहकारी संस्था, कृषकलाई वितरण गर्ने गरिएको बताए। स्रोत केन्द्रबाट खास गरी टिओसेन्टी, जइ, नेपियर, स्टाइलो, मोलासेसलगायत जातको घाँसको बीउको उत्पादन गरी वितरण हँुदै आएको छ ।
पशु चिकित्सक सापकोटाले एउटा स्रोत केन्द्रका लागि सरकारले रु ३० हजारसम्म अनुदान सहयोग गरेको उल्लेख गर्दै दिएको अनुदानमा कृषक समूहले पनि सोही रकम बराबर राखेर घाँस विकास कोष खडा गनुपर्ने प्रावधान रहेको बताए । रु ५० हजार लगानीबाट घाँसको व्यावसायिकखेती भएको काभ्रेपलाञ्चोकमा अहिले रु १५ लाख बराबरको अनुदान सरकारले उपलब्ध गराएको जिल्ला पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । हामीले पशुपालन गर्ने तरिका अन्नमा आधारित हो तर यसलाई परिवर्तन गर्न सके कृषकको उत्पादन लागत घट्न सक्छ र त्यसबाट पर्याप्त फाइदा कृषकले लिन सक्छ पशु चिकित्सक सापकोटाको भनाइ छ । उनले जिल्लामा व्यावसायिक पशुपालनप्रति कृषकको आकर्षण बढेको उल्लेख गर्दै पशुका लागि घाँस पोट्रिनजन्य भएको र त्यसबाट उत्पादन हुने दूधमा समेत बढोत्तरी हुने बताए । व्यावसायिक रुपमा घाँसको खेती गरेका कृषकले हिउँदे र वर्षे घाँसको खेती गरेका छन् । जिल्लाको माझिफेदा, नाग्रेगर्गचे, ढुङ्खर्क, खोपासी क्षेत्रमा पनि घाँसको व्यावसायिकखेती भएको छ । काभ्रेपलाञ्चोकमा स्थानीय र उन्नत गरी एक लाख ३६ हजार ४८५ गाई, एक लाख ३० हजार ९९९ भैँसी, दुई लाख ८९ हजार ६६७ बाख्रा र तीन हजार ६५२ भेडा रहेको जिल्ला पशु सेवा कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति: बिहिबार, माघ १५, २०७१