सोमवार, बैशाख २४, २०८१

तरकारीको उत्पादन घट्दा कृषक आर्थिक सङ्कटमा

पुनर्वास (कञ्चनपुर), १४ पुस । सुदूरपश्चिमको कञ्चनपुर जिल्लामा यस वर्ष बढेको शीतलहर र तुषारोका कारणबाट हिउँदे तरकारी बाली आलु र गोलभेँडाको उत्पादन आधा परिमाणमा घट्न जाँदा तरकारी अभावसँगै कृषकले आर्थिक सङ्कटको सामना गर्नुपर्ने स्थिति देखिएको छ । माटोकोे बनोट, भौगोलिक अवस्थाका कारण हिउँदे तरकारी बालीका रुपमा आलु र गोलभेँडाको खेतीका लागि कञ्चनपुर प्रमुख उत्पादन क्षेत्र रहेको छ । यस वर्ष मङ्सिरको मध्यदेखि निरन्तर बढेको शीतलहर, हुस्सु र तुषारोका कारण उत्पादनमा ५० प्रतिशतले कमी आउने भएको जानकारहरुले जनाएका छन् । यस वर्ष शीतलहर र तुषारोले आलु र गोलभेँडा बालीको उत्पादनमा कमी आउने भएको हो । कञ्चनपुरमा एक हजार ५०० बिगाहामा आलु र ७७५ बिगाहामा हिउँदे बालीका रुपमा गोलभेँडाको खेती गरिएको थियो ।
अहिले आलु छदेखि सात मेट्रिकटन प्रतिहेक्टरमा उत्पादन हुने र गोलभेँडा भने एक मेट्रिकटनमात्र प्रतिहेक्टरमा उत्पादन हुने भएको जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत चोपनारायण खनालले बताउनुभयो । तुषारो र शीतलहरले बाली नोक्सान नगरेको भए प्रतिहेक्टरमा १० देखि १२ मेट्रिकटन आलु र छदेखि सात मेट्रिकटन गोलभेँडाको उत्पादन हुनेमा मौसम प्रतिकूलका कारण उत्पादन घट्न जाँदा तरकारीको अभाव हुने अवस्था आएको बागवानी विकास अधिकृत खनालले जानकारी दिनुभयो ।
प्रतिकूल मौसमका कारण उत्पादनमा कमीले लगानी डुब्दा कृषकमा आर्थिक सङ्कट पैदा भएको छ । बालीको बिमाका लागि कृषकको चासो नदेखिएकाले पनि क्षतिको पूर्ति हुन सक्ने स्थिति नरहेको उहाँले बताउनुभयो । आफूले गरेको लगानीको लाभ लिन र फाइदाजनक सरकारी नीतिअनुसार व्यवसायमा लाग्न चासो नदेखाउँदा कृषकलाई समस्या परेको उहाँले बताउनुभयो । कञ्चनपुर जिल्लामा मात्र नभई देशका प्रमुख सहरमा तरकारी आपूर्ति गर्दै आएको जिल्लाका रुपमा पहिचान बनाएको जिल्लामै यस वर्ष तरकारी अभाव हुने भएको छ । स्थानीय उत्पादनमा कमी भएपछि भारतबाट तरकारी आयात गरी यहाँको माग आपूर्ति हुने अवस्था सिर्जना भएको छ । यसबाट स्वदेशी मुद्रा विदेशिएर जाँदा नेपाली अर्थतन्त्रमा नकारात्मक असर पर्ने कञ्चनपुर उद्योग वाणिज्य सङ्घ त्रिभुवनबस्ती शाखाका सचिव भरतबहादुर बिष्टले बताउनुभयो ।

प्रकाशित मिति: सोमवार, पुस १४, २०७१