शुक्रबार, जेष्ठ ४, २०८१

विहुँका किसानले पाँच करोडको सुन्तला बेचे

बागलुङ, १० पुस । बागलुङको बिहुँका किसानले यो समयमा मात्रै रु पाँच करोड बराबरको सुन्तला बिक्री गरेका छन् । अनुकूल समयका कारण यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएपछि किसानले उक्त मूल्य बराबरको सुन्तला बिक्री गरेका हुन् ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार सुन्तला उत्पादनको पकेट क्षेत्र मानिएको बिहुँ गाविसको ४७ हेक्टर क्षेत्रफलमा व्यावसायिक सुन्तला खेती हुँदै आएको छ । गत वर्ष ९०० टन सुन्तला फलेको उक्त गाविसमा यो वर्ष सो परिमाण बढ्ने कार्यालयले जनाएको छ । कार्यालयका अनुसार एक घरबाट न्यूनतम रु ५० हजारदेखि रु पाँच लाखसम्मको सुन्तला बिक्री हुने गरेको छ ।
व्यवसायीहरू किसानको बगैँचामै पुगेर सुन्तला खरिद गर्ने गरेका छन् । सुन्तला बारीमै पुग्ने व्यापारीले बोट नै एकमुष्ट खरिद गर्ने सुन्तला किसान बालानन्द कँडेलले बताए । उनका अनुसार खुद्रा बेच्दा प्रतिकिलो रु ४० पर्ने गरेको छ । सुन्तला खरिदका लागि सदरमुकाम बागलुङ बजारलगायत काठमाडौँ, चितवनजस्ता ठूला सहरबाट पनि व्यापारी कृषकको घरमै आउने गरेको किसान कँडेलले बताए । कँडेलले आफ्नो बगैँचामा फलेको सुन्तला रु तीन लाख थोक मूल्यमा बिक्री गरेको जानकारी समेत दिए ।
मध्यपहाडी लोक मार्गको नजिकै सुन्तला बगान भएपछि व्यापारीलाई खरिद तथा ढुवानी गर्न सहज भएको र व्यवसायीहरू किसानका बगैँचामै जाने क्रम बढ्न थालेको छ । बिहुँको सुल्डाँडा, किमबोट, ताराखसे, हटिया, करलिम लगायतका ठाउँका कृषकले व्यावसायिक रुपमै सुन्तलाखेती गर्दै आएका छन् ।

प्रकाशित मिति: बिहिबार, पुस १०, २०७१