आइतवार, जेष्ठ ६, २०८१

बीउबिजनका लागि ४८ लाख अनुदान

प्युठान, ११ पुस । ‘एक जिल्ला एक उत्पादन’ कार्यक्रमअन्तर्गत जिल्लामा सञ्चालन गर्न लागिएको उन्नत बीउबिजन कार्यक्रमका लागि प्युठानका पाँच सहकारी संस्थाले अनुदान पाउने भएका छन् ।

जिल्लाका किसानका लागि उन्नत बीउबिजन कार्यक्रमअन्तर्गत ४८ लाखभन्दा धेरै रुपैयाँ अनुदान दिइने भएको हो ।
नेपाल सरकार कृषि विकास मन्त्रालयको सहकार्य तथा कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (इफाड)को सहयोगमा उन्नत बीउबिजन उत्पादन गर्न सहकारीलाई छनोट गरी अनुदान दिइने कृषि उद्यम केन्द्रका कृषि विकास व्यवसाय सल्लाहकार शोभा महर्जनले जानकारी दिइन् ।
जिल्लामा धान, मकै, आलु र गहँुको उन्नत बीउ उत्पादन गर्नका लागि सहकारी छनोट गरिएको छ । जनता सहकारी संस्था लिमिटेड बिजुवारले जिल्लामा सबैभन्दा धेरै रकम अनुदान पाउने भएको छ ।
यस सहकारीले रु १० लाख ५० हजार र अन्य चार सहकारी संस्थाले सात लाख ५० हजारका दरले अनुदान पाउने महर्जनले बताइन् । जिल्लाभरमा कुल रु ४८ लाख अनुदान स्वीकृत भएको छ । बीउबिजन कार्यक्रम सञ्चालनका लागि सहकारीले ५० प्रतिशत रकम अनुदान पाउने र थप ५० प्रतिशत रकम सम्बन्धित सहकारीले व्यहोर्नु पर्ने गरी अनुदान दिन लागिएको हो ।

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०७१