शुक्रबार, बैशाख १४, २०८१

सोह्र खाद्य तथा दाना उद्योगमाथि कारबाही

विराटनगर, २९ मङ्सिर । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले न्यून गुणस्तर, दूषित खाद्य तथा मानव जीवनलाई असर पु¥याउने ११ वटा खाद्य उद्योगमाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ । कार्यालयद्वारा आज यहाँ आयोजित आव ०७१/७२ को प्रथम चौमासिक समीक्षा गोष्ठीको अवसरमा उक्त जानकारी दिइएको हो । यसरी कारबाही प्रक्रिया अगाडि बढाइएका खाद्य उद्योगमा मोरङको एक, सुनसरीको एक, झापा दुई र उदयपुर जिल्लाका सात वटा रहेका छन् । कारबाहीमा पर्ने खाद्य उत्पादनमा मिठाई एक, तोरीको तेल ६, प्रशोधित सोयाबिन तेल दुई, प्रशोधित पिउने पानी एक र मसला उद्योग एक रहेका छन् ।
कार्यालयले मोरङ, सुनसरी, झापा, सप्तरी, उदयपुर र सिरहा जिल्लाबाट वनस्पति तेल, बीउ, खाद्यान्न दलहन, दूग्धपदार्थ, नुन, चिया, चिनी, कन्फेक्सनरी, मसला, फल, पिउने पानी तथा पेयपदार्थका गरी २११ वटा खाद्य नमूना सङ्कलन गरेको थियो । यस्तै कार्यालयले १० वटा दाना उद्योगबाट नमूना सङ्कलन गरेकामा एक प्रतिकूल देखिएको र चारवटामा माइकोटक्सिनको मात्र अत्यधिक देखिएकाले ती पाँच उद्योगलाई आवश्यक कारबाहीको लागि प्रक्रिया अगाडि बढाएको जनाएको छ । गोष्ठीमा कार्यालय प्रमुख प्रमोद कोइरालाले उपभोक्तालाई गुणस्तरयुक्त स्वच्छ खाद्यपदार्थ प्रयोग गर्ने कार्यका लागि कार्यालय कटिबद्ध रहेको बताउँदै समयसापेक्ष खाद्य नियम परिमार्जन हुनुपर्नेमा जोड दिए । गोष्ठीमा उपभोक्ता संरक्षणका हकहित सङ्घ संस्थाका प्रमुख, विभिन्न कार्यालयका प्रमुख एवम् प्रतिनिधि र सञ्चारकर्मीले खाद्य अनुगमन, गुणस्तरसम्बन्धमा जिज्ञासा राखेका थिए ।

प्रकाशित मिति: सोमवार, मंसिर २९, २०७१