शुक्रबार, बैशाख २१, २०८१

बोटबिरुवाको उपचार गर्न बाली शिविर

बाबियाचौर (म्याग्दी), ३१ भदौ । मानिस र जनावर बिरामी हुँदा स्वास्थ्य परीक्षण र औषधि उपचार गरिएको नौलो होइन तर म्याग्दीमा भने बोटबिरुवाको उपचार गर्न शिविर नै सञ्चालन गरिएको छ । रोगी बनेका तरकारी, फलफूल र अन्नबालीका बिरुवाको रोग पहिचान र निदानका लागि जिल्ला कृषि विकास कार्यालय म्याग्दी तथा क्षेत्रीय बाली संरक्षण प्रयोगशाला पोखराले सोमबार बेनीमा बाली उपचार शिविर सञ्चालन गरेका हो । शिविरमा किसानले ल्याएका रोगी बिरुवाको नमुना परीक्षण र उपचार तथा परामर्श दिएको दृश्य मानिस र पशुको उपचारभन्दा फरक थिएन । बोटबिरुवाको परीक्षण गरेपछि रोग पत्ता लगाई कृषि प्राविधिकले जैविक, रासायनिक विषादी र प्राविधिक सुझाव दिएका थिए ।
शिविरमा रत्नेचौर, ज्यामरुककोट, घतान, पुलाचौर, हिस्तान, शिख र घार गाविसका ३० जना कृषकले बाली उपचार सेवा लिएको जानकारी जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत वसन्तकुमार श्रेष्ठले दिनुभयो । अधिकृत श्रेष्ठका अनुसार खेतीबालीको स्याहारसुसार र हेरचाहमा किसानलाई सचेत बनाउने एवम् रोगकीरा पहिचान गरी निदानको उपायसम्बन्धी प्रविधि सिकाउने उद्देश्यले जिल्लाका अन्य स्थानमा पनि यस्तो शिविर सञ्चालन गरिने छ । शिविरमा बन्दा, काउली, गोलभेँडा, सुन्तला, कागती, धान, कोदोलगायत तरकारी, फलफूल र अन्नबाली प्रजातिका रोगी बिरुवाको परीक्षण गरिएको थियो ।

प्रकाशित मिति: मङ्लबार, भदौ ३१, २०७१