आइतवार, बैशाख ३०, २०८१

बीउ बैंक प्रभावकारी बन्दै

दमक, २३ भदौ । झापाको शिवगन्जमा सञ्चालित बीउ बैंक प्रभावकारी बन्दै गएको छ । गाउँ घरमा गुणस्तरीय बीउबिजन उपभोक्ताले बंैकमार्फत कृषि सामग्री पाएपछि यस क्षेत्रमा खोलिएको बीउ बैंक प्रभावकारी बनेको हो । रैथाने जातका कृषिउपज लोप हुने अवस्था आएपछि यहाँँका कृषकले बीउ बैंक सञ्चालनमा ल्याएका हुन् । जैविक विविधताको संरक्षणसँगै बीउमा बढ्दो परनिर्भरतामा कमी ल्याउने उद्देश्यले समुदायको पहलमा सामुदायिक बीउ बैंक स्थापना गरेका हुन् । पाँच वर्षअघि स्थापित यस बीउ बैंकले हाल विभिन्न बालीका ११९ प्रजातिका बीउ संरक्षण गरेको छ । बीउ बैंक स्थानीय कञ्चन जैविक विविधता संरक्षण तथा विकास समितिले सञ्चालन गरेको हो । कृषि बढ्दो आधुनिकताले उत्पादनमा वृद्धिका लागि सहयोग पु¥याइ रहे पनि पर्यावरणीय नोक्सानीबारे भने ध्यान जान नसक्दा किसानमा समस्या आएकोे समितिका अध्यक्ष डिल्लीराम काफ्लेले बताउनुभयो । उहाँले भन्नुभयो– “बर्णशङ्कर प्रजातिका बीउको बढ्दो प्रयोगले कयौँ स्थानीय तथा रैथाने बाली नासिने अवस्थामा पुगेका छन् ।” बीउ बैंकमा धानका ७२, मकैका तीन, बोडीका आठ, सिमिका १७, फर्सीका पाँचलगायत गरी रैथानै उपजका बीउ संरक्षण गरिएको छ । समिति मातहतमा किसानका २२ वटा स्थानीय कृषक उपसमिति छन् । तिनमा एक हजार १७५ किसान आबद्ध रहेका छन् । तिनै किसानले बीउ बैंकमार्फत संरक्षित बीउ लैजाने गरेका छन् भने उत्पादन गरिए पछि बीउ फिर्ता दिने गरेको समितिकी उपाध्यक्ष नरमाया कार्कीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: सोमवार, भदौ २३, २०७१