शनिबार, बैशाख १५, २०८१

बिषादी आतंकबाट उपभोक्ता हैरान, व्यवसायिक तरकारी खेती धरापमा

काठमाडौं, १० श्रावण । पछिल्लो समयमा हरिया तरकारीहरुमा अत्यधिक रुपमा बिषादी प्रयोग गरिएको भन्ने समाचारहरुले जसरी स्थान पाए त्यसैगरी बिषादी घट्दै गएको समाचार आउन सकेनन् । जसले गर्दा कालिमाटी तरकारी बजार मात्र होइन अन्य क्षेत्रका बजारबाट तरकारी उपभोग गरिरहेका उपभोक्ताहरु हैरान भएका छन् । फर्सीको मुण्टा, आलुदेखि खुर्सानीसम्ममा अत्यधिक बिषादी प्रयोग गरिएका समाचारहरुले आम नागरिकलाई के खाने भन्ने चिन्ताले सताउन थालेको छ ।
‘खाउ भने दिनभरको शिकार नखाऊ भने कान्छा बाउको अनुहार’ उखान जस्तै भएको छ काठमाडौं बासीलाई मात्र होइन मुलुकभरका शहरमा बस्ने शहरबासीहरुको लागि । मिडियाप्रेमी बनेका नागरिकहरुलाई मिडियाले आतंकित त तुल्यायो तर सरकारले बिषादी न्यूनिकरण गर्दै गईरहेको कुरालाई प्राथमिकता दिन नसक्दा भने बजारमा तरकारी आतंक झन् झन् बढ्दै गएको छ ।
किसानहरुलाई सचेत गराउँदै बिषादी प्रयोग पछि पर्खनु पर्ने समयलाई पर्खेर मात्र तरकारी बजारमा लैजाने हो भने त्यसले रोकावटको मात्र अत्यन्त कम देखिने र ती तरकारीहरु खान योग्य हुने भनिरहेका बेला किसानहरुलाई सचेत गराउने खालका समाचारहरुले प्राथमिकता पाउन सकेको छैन । हुन कृषि विकास मन्त्रालय मातहत किसानका लागि रेडियो, टेलिभिजन कार्यक्रम मार्फत सचेत गराउने जसरी पहल गर्नु पर्ने थियो त्यो हुन नसकेको कृषि विकास मन्त्रालयका अधिकारीहरुले नै स्वीकार गरिरहेका छन् ।
अहिले जसरी तरकारीका बिषादी प्रयोगको कुरा चर्चा र बहसको बिषय बनेको छ । र आम उपभोक्ता कुन तरकारी उपभोग गर्ने भन्ने चिन्तामा पिरोलिएका छन् त्यसलाई सम्वोधन गर्ने काम सरकारी निकायले गर्नु पर्ने थियो । तर त्यो हुन सकिरहेको देखिंदैन । सरकार आम जनतालाई यसप्रति सजग गराउँदै तरकारी खाने हुने वा नहुने भन्ने बारेमा हरेक दिन आफ्ना निकायहरु मार्फत सक्रिय नहुने हो भने बढ्दै गईरहेको व्यवसायिक कृषि र तरकारी खेती धरापमा नपर्ला भन्न सकिंदैन ।

प्रकाशित मिति: शनिबार, साउन १०, २०७१