सोमवार, बैशाख ३१, २०८१

वर्षा नहुँदा केरा उत्पादनमा कमी

चितवन), ३ जेठ । खडेरीका कारण चितवनमा यसपटक केरा उत्पादनमा कमी आएको छ । करिब ७५ प्रतिशतले केरा उत्पादनमा कमी आएको केरा व्यवसायी समिति चितवनले जनाएको छ ।

समितिका उपाध्यक्ष विष्णुहरि पन्तले आवश्यक पानीको मात्रा नपुग्दा केरा उत्पादनमा अप्रत्यासित कमी आएको र उत्पादित केरा पनि राम्रो नभएको बताउनुभयो ।
सिँचाइ नभएका ठाउँमा वर्षा भएन र सिँचाइ हुने स्थानमा पनि विद्युत्को समस्याले पानी पु¥याउन नसकिएको किसानको गुनासो छ ।
यो मौसममा दैनिक रु १३ लाखको केरा बिक्री हुने गरेकामा यसपटक रु पाँच लाखको मात्रै बिक्री भइरहेको उहाँले बताउनुभयो । दिनकै १५ गाडी केरा जाने गरेकामा अहिले पाँच गाडी पठाउन पनि मुस्किल भएको केरा किसानले बताएका छन् ।
विगतमा हावाहुरीका कारण केराखेतीबाट करोडौँ क्षति व्यहोरेका किसानलाई यसपटक खडेरीले समस्या पारेको छ ।
बजारमा केराको माग उच्च रहे पनि किसानले केरा दिन नसकेको समितिका अध्यक्ष यज्ञप्रसाद सुवेदी बताउनुहुन्छ । त्यसैले अहिले भारतबाट अत्यधिक मात्रामा नेपालमा केरा भित्रिरहेको उहाँले बताउनुभयो ।
विसं २०५१ देखि व्यावसायिक केराखेती सुरु भएको चितवनमा अहिले एक हजार ६०० बिघामा खेती हुने गरेको छ । यहाँ वर्षामासमा एक हजार बिघामा मालभोग केरा र हिउँदमा ६०० बिघामा हरियो केरा उत्पादन हुने गर्छ ।

प्रकाशित मिति: शनिबार, जेष्ठ ३, २०७१