मङ्लबार, बैशाख २५, २०८१

दस गाविसमा खाद्य सुरक्षा आयोजना सञ्चालन

सुर्खेत, २४ वैशाख । जिल्लामा खाद्य सङ्कटको जोखिम न्यूनीकरण गर्नका लागि यहाँका दस गाविसमा खाद्य सुरक्षा आयोजना सञ्चालन गरिएको छ । कृषि तथा पशुजन्य उत्पादन बढाएर लक्षित समुदायको खाद्य तथा पोषणको अवस्थामा सुधार ल्याउन जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशुसेवा कार्यालय र जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतमार्फत कृषि विकास मन्त्रालयले यो कार्यक्रम सुरु गरेको हो ।
पाँच वर्षभित्र खाद्य सुरक्षाको प्रत्याभूति गराउने लक्ष्यसहित जिल्लाका दस गाविसमा कार्यक्रम सुरु गरिएको कृषि विकास कार्यालय सुर्खेतका वरिष्ठ कृषि विकास अधिकृत विजय गिरीले जानकारी दिए । समग्र जिल्लामा खाद्य सुरक्षा रहे पनि केही गाविसमा खाद्य असुरक्षा रहेकाले उन्नत बीउ प्रवद्र्धन, साना सिँचाइको विकास, कृषि प्रणालीको आधुनिकीकरण, उन्नत पशुपालन, बजारीकरणमा सुधारलगायत कार्यक्रम थालिएको गिरीले जानकारी दिए । जिल्लामा पछिल्लो समय खाद्य उत्पादन घट्दै गएको छ । प्रारम्भिक सर्वेक्षणमा खाद्य सुरक्षाको अवस्था सन्तोषजनक रहेका गाविसमा नै पहिलो चरणमा कार्यक्रम सुरु गरिएको अधिकृत गिरीको भनाइ छ । उनका अनुसार पहिलो चरणमा सालकोट र विद्यापुरमा कार्यक्रम सञ्चालन भएको छ । यस्तै दोस्रो चरणमा कल्याण, दशरथपुर, बजेडीचौर र राकममा सञ्चालन हुनेछ भने तेस्रो चरणमा गुटु, बाबियाचौर, गुमी र लेखफर्सामा सञ्चालन गरिने गिरीले जानकारी दिनुभयो । यी गाविसमा कृषिका साथै जिल्ला पशुसेवा कार्यालयले पनि पशु तथा दुग्ध उत्पादनको प्रवद्र्धनसम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ ।

जिल्ला पशुसेवा कार्यालयले खाद्य तथा पोषण सुरक्षाको दृष्टिले जोखिम रहेका घरपरिवारका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताएको छ । उत्पादनमा ह्रास, परम्परागत खेती तथा पशुपालन प्रणाली र बाढीपहिरोका साथै बजारीकरण तथा सिँचाइ अभावलगायत कारणले जिल्लामा खाद्य सङ्कट बढ्न सक्ने भएकाले यो कार्यक्रम सुरु गरिएको कार्यालयको भनाइ छ ।  -कृषि साप्ताहिक

प्रकाशित मिति: बुधबार, बैशाख २४, २०७१