बुधबार, बैशाख २६, २०८१

नौ गाविसमा व्यावसायिक चिराइतो खेती

बागलुङ, २१ वैशाख । बागलुङका नौ गाविसमा चिराइतो खेती सुरु गरिएको छ । आयुर्वेद औषधि बनाउन प्रयोग हुने चिराइतो खेतीलाई व्यवसायीकरण गर्न सामुदायिक वन उपभोक्ता महासङ्घ बागलुङले अगुवाइ गरेको हो । महासङ्घले बहुसरोकारवाला वन कार्यक्रम लिवर्डको सहयोगमा जिल्लाका नौ गाविसमा तत्कालका लागि २५ हेक्टर क्षेत्रफलमा चिराइतो खेती लगाएको हो । सामुदायिक वन उपभोक्ता समिति र व्यक्तिलाई समेत चिराइतो खेतीका लागि महासङ्घले सहयोग गरिरहेको महासङ्घ बागलुङका अध्यक्ष प्रेम लामिछानेले बताए । महासङ्घले जिल्लाको रणसिंहकिटेनी, ग्वालीचौर, पाण्डवखानी, जलजला, तारा, भिमापोखरा, भकुण्डे, रेश र देवीस्थान गाविसमा चिराइतो खेती सुरु गरेको अध्यक्ष लामिछानेले जानकारी दिए ।
‘उपभोक्ता समिति र समुदायका अन्य व्यक्तिलाई समेत चिराइतो खेतीका लागि हामीले सघाइरहेका छौँ’ लामिछानेले भने, “चिराइतो खेती गर्न इच्छुक उपभोक्ता समिति र व्यक्तिलाई प्राविधिक सहयोग प्रदान गर्दै आएका छौँ ।” महासङ्घले तालिम, बीउबिजनलगायत अन्य प्राविधिक सहयोग प्रदान गर्दै आएको छ । उच्च पहाडी भेगको हावापानीमा हुने चिराइतो खेतीको व्यावसायिक उत्पादनको राम्रो सम्भावना देखेर खेती गरिएको महासङ्घले जनाएको छ । पहिलोपटक खेती लगाइएका गाविसमा उत्पादनको अवस्था हेरेर अन्य गाविसमा समेत विस्तार गरिने महासङ्घका अध्यक्ष लामिछानेले बताए । सम्बन्धित गाविसमै बिरुवा उत्पादनका लागि नर्सरी पनि बनाइएको छ । त्यस्तै बाहिरबाट ल्याइएका बिरुवा र सिधै बीउबाट पनि खेती सुरु गरिएको छ । खेती गर्नुपूर्व इलामबाट दक्ष प्राविधिक ल्याएर सम्भाव्यता अध्ययन गरिएको थियो । इलामबाटै बीउबिजन खरिद गरेर खेती गरिएको हो । गाउँघरको बाँझो जग्गामा समेत चिराइतो खेती हुन थालेपछि किसान उत्साहित बनेका हुन् । ग्वलीचौर गाविसका मेयरसिंह पाइजाले व्यावसायिक रूपमा चिराइतोको बिरुवा उत्पादन गरिरहेकाछन् ।
गाउँघरमा तिते भनिने चिराइतो पछिल्लो समय संरक्षणको अभावमा त्यसै खेर गइरहेको थियो । वनजङ्ल र बाँझो जग्गामा भएर पनि त्यसको पहिचान हुन नसक्दा त्यसै गइरहेको चिराइतो खेतीको महत्वबारे थाहा पाएपछि किसान उत्साहित भएका छन्’ महासङ्घका अध्यक्ष लामिछानेले बताए ।  देशविदेशमा चिराइतो माग पनि पछिल्लो समय बढ्दै गएको छ । प्रतिकिलो रु ६०० मा चिराइतो बिक्री हुने गरेको छ । चिनियाँ बजारमा चिराइतो माग बढ्दो रहेको बताइन्छ । बहुउपयोगी जडीबुटीका रूपमा परिचित चिराइतोको व्यावसायिक खेती गर्नसके ग्रामीण अर्थतन्त्रमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ । – कृषि साप्ताहिक

प्रकाशित मिति: आइतवार, बैशाख २१, २०७१