सोमवार, जेष्ठ ७, २०८१

दुग्ध डेरीहरूले मागअनुसार दूध आपूर्ति गर्न सकेनन्

गाईघाट (उदयपुर), २१ वैशाख । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्र र सदरमुकाम गाईघाटमा पर्याप्त दुग्ध डेरीहरू भए तापनि मागअनुसारको दुग्ध आपूर्ति गर्न नसकेको गुनासो बढ्दै जान थालेको छ । अहिले गाईघाट बजारमा मात्र झन्डै एक दर्जनको हाराहारीमा दुग्ध डेरीहरू सञ्चालन हुँदै आएका छन् । तर स्थानीय उपभोक्ताको मागअनुसार दुग्ध भने डेरीहरूले उपलब्ध गराउन नसकेको गुनासो स्थानीय उपभोक्ताको रहेको छ ।
त्रियुगा नगरपालिका क्षेत्रका अधिकांश स्थानीय दूध लिनका लागि वा दूध, दहीजन्य पदार्थ लिनका लागि गाईघाट बजारको डेरीमा निर्भर गर्दै आएको कुरा गाईघाट–२ का स्थानीय विष्णु खत्रीले बताएका छन् । तर डेरीमा आउँदा मागअनुसारको दूध, दहीजस्ता वस्तुहरू पूर्ति हुन नसकेको कुरा खत्री बताउछन् । स्थानीय केशव कार्की भन्छन्, “घरमा सामान्य पूजा तथा विवाह, व्रतबन्ध गर्नुपरेमा यहाँका डेरीहरूले माग गरेअनुसारकोे दूध, दही तथा घ्यू आपूर्ति गर्न सक्दैनन््, आफूले घरको कार्यक्रममा पूजा गर्नका लागि पटक–पटक दही, दूध बाहिरबाट ल्याउन बाध्य भएको छु ।” यस्तै अन्य स्थानीय उपभोक्ताको पनि गुनासो उस्तै रहेको छ । समयमा मागअनुसारको दूध तथा दही स्थानीय डेरीहरूले आपूर्ति गर्न नसकेको गुनासो रहेको पाइन्छ । यता डेरी सञ्चालकहरू भने अहिले डेरीमा दूध खरिद नै घट्न थालेका कारण पनि मागअनुसारको दूध, दही पूरा गर्न केही समस्या रहेको बताउँछन् ।
स्थानीय डेरी सञ्चालक विनोद चौधरी भन्छन्, “केही महिनायता सुक्खा तथा खडेरी बढेपछि कृषकले दूध नै कम उत्पादन गर्न थालेका छन्, कृषकले नै डेरीको मागअनुसार दूध आपूर्ति नगरेपछि आफूहरूले पनि उपभोक्ताको माग पूरा गर्न समस्या पर्ने गरेको छ ।” नगर क्षेत्रमा सबैले गाईभैँसी पाल्न छाडेको र जनसङ्ख्यासमेत वृद्धि हुँदै गएका कारण पनि मागअनुसारको दूध पूरा हुन नसकेको अर्का डेरी सञ्चालिका ममता श्रेष्ठ (सुब्बा) बताउँछन्  । वर्षायाममा दूध उत्पादन राम्रो हुने भएका कारण पनि मागअनुसारको आपूर्ति गर्न सकिने, तर अहिलेको सुक्खा र खडेरीका कारण दूध उत्पादन कम हुने कारण मागअनुसार दूध आपूर्ति हुन नसकेको डेरी सञ्चालकहरूको भनाइ छ ।
यता स्थानीय उपभोक्ता भने घरमा गरिने वैवाहिक कार्यक्रम, व्रतबन्ध, पूजा तथा अन्य कार्यक्रमका लागि दूध, दही आवश्यकता पर्दा डेरीबाट मागअनुसारको दूध दही पाउन नसकिएको गुनासो गर्ने गरेका छन् । स्थानीय बजारमा दूध पर्याप्तमात्रामा नपाएपछि कतिपय स्थानीय उपभोक्तालाई घरमा विभिन्न कार्यक्रममा दूध दही आवश्यकता पर्दा तराईको सिरहा, सप्तरी जिल्लाका डेरीसम्म दूध लिन जानुपर्ने बाध्यता रहेको कुरा बताउँछन् । -कृषि साप्ताहिक

प्रकाशित मिति: आइतवार, बैशाख २१, २०७१