शनिबार, बैशाख १५, २०८१

खाद्य डिपो रित्तियो

khadye depoजाजरकोट, १४ वैशाख । जाजरकोटका उत्तरपूर्वी क्षेत्रमा खाद्यान्न अभाव भएको छ । खाद्य संस्थानले चौखा र घाट डिपोबाट सहुलियतको चामल नियमित रुपमा बिक्री वितरण गर्ने व्यवस्था नगर्दा दुर्गम गाविस रग्दा, भगवती, खगेनकोट, रामीडाँडा, रोकायगाउँ र सक्लामा खाद्य समस्या चर्किएको हो । संस्थानले ठेकेदारद्वारा आपूर्ति गर्दै आएको चामल एकैसाथ बिक्री गर्दा स्थानीयवासीले चाहेको बेला पाउन सकेका छैनन् । महिनामा एकपटक चामल आउँछ । त्यो पनि पैसा भएकाले धेरै किन्छन् । गरिबसँग ३० किलो किन्ने पैसा पनि हुँदैन । ३० कलोभन्दा घटी ठेकेदारले बिक्री गर्दैनन् । यही कारण उनीहरुले चाहेको बेला चामल पाउन नसकेको स्थानीयवासी तेजबहादुर विक बताउनुहुन्छ । करोडौँको लगानीमा बनेको चौखा गोदाममा घोडा, खच्चडलगायत पशुचौपाया थुन्ने गरिएको छ । १७ वर्षदेखि गोदाममा चामल राखिएको छैन । संस्थानले चालु आर्थिक वर्षमा चौखा डिपोका लागि ५०० क्विन्टल चामल पठाउँदा पनि गरिबको घरमा नपुगेको स्थानीय उपभोक्ताको गुनासो छ ।
यसैबीच, सहुलियत मूल्यमा उपलब्ध गराउने चामल थप रकम लिएर बिक्री भएको खुलासा भएको छ । चौखा डिपोका ढुवानी ठेकेदारले प्रतिक्विन्टल तीन हजार २०० मा बिक्री गर्नुपर्ने चामलमा थप मूल्य लिएर तीन हजार ७०० रुपैयाँमा बिक्री गरेको स्थानीयवासी बताउँछन् । संस्थानको पजारुस्थित घोगी डिपोमा पनि ठेकेदारले ९७० पर्ने ३० किलो जापानी चामल एक हजार २०० रुपैयाँमा बेचेको संस्थानका सहायक कर्मचारी हीरा शाहीले जनाउनुभयो । प्रतिस्पर्धामा न्यून दरमा ढुवानी ठेक्का पारेका ठेकेदारले सहुलियत दरभन्दा बढीमा बेच्दा उपभोक्ता आक्रोशित बनेका हुन् । संस्थानले निर्धारण गरेको दरभन्दा ठेकेदारले बढी मूल्य लिँदा स्थानीयवासी मर्कामा परेको रग्दा गाविस सचिव कुलदीप शाहले बताउनुभयो ।
निर्धारित कोटा अनुसारको चामल नै ढुवानी हुँदैन । त्यो पनि ठूलो मूल्य अन्तर हुँदा झन् अन्याय भएको उहाँको भनाइ छ । जिल्लाको पजारु, कोर्ताङ, दह, रग्दा, भगवतीलगायतका गाविसमा धान उत्पादन नहुने हुँदा त्यहाँका जनतालाई संस्थानको चामलमा भर पर्नुपर्छ । ठेकेदारले मनपरी गरे पनि कसैलाई कारबाही नहुँदा समस्या बढेको स्थानीय बताउँछन् । अनुगमन गर्ने कुनै संयन्त्र नहँुदा समस्या आएको उनीहरुको भनाइ रहेको छ । यता, अञ्चल कार्यालय नेपालगन्जका प्रमुख शङ्कर सापकोटा भने संस्थानले तोकेको मूल्यभन्दा एक रुपैयाँ पनि बढीमा चामल बेच्न नपाइने बताउनुहुन्छ । जनतालाई सहुलियतमा पठाएको चामलको मूल्य वृद्धि गर्ने ठेकेदारलाई कारबाही गर्ने सापकोटाले प्रतिबद्धता जनाउनुभयो ।

प्रकाशित मिति: आइतवार, बैशाख १४, २०७१