आइतवार, जेष्ठ ६, २०८१

संरक्षणको अभावमा खतरान्मुख अवस्थामा छ छुमचौर

जुम्ला, २५ चैत । विश्वको सर्वाधिक उचाइमा धान फल्ने जुम्लाको छुमचौर गाविसको छुमचौर ज्यूला संरक्षणको अभावमा खतरान्मुख अवस्थामा छ ।     समुद्री सतहदेखि करिब दुई हजार ८५० मिटर उचाइमा धान फल्ने उक्त ज्यूलामा यस गाविसका स्थायी बासिन्दाले विगत एक दशकदेखि जुम्लाको कालीमार्सी धान लगाउन छोडेर मकै सिमी र आलु खेतीमा आकर्षित भएपछि अहिले अवशेषका रुपमा मात्र १६० वर्ग मिटरको जग्गामा धान लगाउँदै आएको सो गाविस वडा नं ४ का जग्गाधनी रतनबहादुर महताराले बताउनुभयो । उहाँका अनुसार धान रोप्ने समयमा १० देखि ५५ वर्षसम्मका यस क्षेत्रका बासिन्दा पाटनतिर यार्सागुम्बा खोज्न होमिने गर्दा गाउँ नै खाली भएर खेतीपाती गर्ने मान्छे नभएपछि यसको खेती प्रक्रियामा कमी आएको हो ।
सो गाविसका सचिव बालकृष्ण चौलागाईं भन्नुहुन्छ, जुम्लाभन्दा बाहिरका र अन्य मुलुकका मानिसहरू सर्वाधिक उचाइमा धान फल्ने क्षेत्र तथा देशका मान्छे भनेर गर्व गर्छन् होला तर यस क्षेत्रका बासिन्दा भने कतै बाँकी अवशेष पनि मेटिएर जाने होकी भन्ने चिन्तामा छन् । सचिव चौलागाईंका अनुसार हिमालको काखमा रहेको बस्ती भएकाले धान बाली भित्र्याउने समयमा असिना पानी पर्ने र मरुवा रोगले सताउने भएका कारण पनि यसको खेतीमा कमी आएको हो । विश्वमा नेपालकै गरिमा राखेको उक्त ज्यूलाको संरक्षणका लागि अहिलेसम्म कुनै पनि सरकारी तथा गैरसरकारी निकायले चासो नदेखाएको स्थानीय छुमचौर–२ का गोरबहादुर रावत बताउनुहुन्छ । कालीमार्सी धानको संरक्षणका लागि गाविसले किसानलाई धानखेतीतिर आकर्षित गर्न जिल्ला कृषि विकास कार्यालय र राष्ट्रिय कृषि अनुसन्धान परिषद्सँग समन्वय गरेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने सोच बनाएको सचिव चौलागार्इंले जानकारी दिनुभएको छ । अहिले उक्त ज्यूलामा १२ माना धान लगाएर १२५ केजी धान उत्पादन हुँदै आएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका बाली संरक्षण अधिकृत चन्द्रबहादुर बुढाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: मङ्लबार, चैत्र २५, २०७०