सोमवार, बैशाख २४, २०८१

कृषिका लागि ल्याएको ट्याक्टर गिटी ओसार्दै

दमक, १३ चैत । कृषिजन्य उपकरणका रूपमा भित्र्याइएका ट्र्याक्टर यहाँ नियम विपरीत सञ्चालन हँुदै आएका छन् । पूर्व–पश्चिम राजमार्ग र भित्री सडकमा गुड्ने यस्ता ट्र्याक्टरले अवैध रूपमा ढुवानीको काम गर्ने क्रम बढेको छ ।

नियमनकारी निकायको बेवास्ताका कारण यस्ता सवारी थपिने क्रमसमेत बढेको छ । मेचीमा १० हजारको हाराहारीमा यस्ता ट्र्याक्टर भित्रिएको यातायात व्यवस्था विभागले जनाएको छ । कर छुटमा भित्रिएका यस्ता ट्र्याक्टरको दुरूपयोग बढे पनि नियमनकारी निकाय भने नियन्त्रण गर्न खासै लागेका देखिँदैनन् ।
यस्ता ट्र्याक्टरको नम्बर प्लेट नराखिने, साङ्केतिक बत्ती नहुने तथा बढी भार ढुवानी गर्ने कारणले दुर्घटनाको जोखिम बढ्दो छ । ट्र्याक्टरको गुडाइसँगै गड्याङगुडुङसहितको चर्को आवाज र धूलोका कारण राजमार्गमा अन्य सवारी साधनका चालक तथा यात्रुले पनि समस्या भोग्नु परिरहेको छ ।
डालीमा बालुवा तथा ढुङ्गा गिट्टी हालेर ट्र्याक्टर गुडाइँदा मोटरसाइकल तथा अन्य सवारी चालकले पनि बढी समस्या भोग्नु परिरहेको छ भने डालीबाहिर निकालेरसमेत रड, बाँस आदि राखेर ओसारपसार गर्नाले आवतजावतमा निकै समस्या भोग्नुपरिरहेको सतासीधाम झिलझिलेका दिनेश गजमेर बताउनुहुन्छ ।
कृषिजन्य उपकरणका रूपमा भन्सार छुट सुविधामा भित्र्याइएका ट्र्याक्टरमा ट्रली जडानको अनुमति यातायात व्यवस्था कार्यालयले दिएका कारण राजमार्गमा निर्माण सामग्री लिएर ट्र्याक्टर गुड्ने गरेको ट्राफिक प्रहरीको भनाइ छ ।
यस्तो अनुमति भए पनि विभिन्न कृषि उपजहरू तथा कृषि सामग्रीको ओसारपसारमा मात्रै यसको प्रयोग हुनुपर्नेमा निर्माण सामग्री ओसार्नसमेत प्रयोग हुनुले समस्या देखिएको हो ।
इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख वासुदेव थापा ट्र्याक्टरकै कारण पछिल्लो समय राजमार्ग र सहायक सडकहरूमा दुर्घटना बढेको स्वीकार्नुहुन्छ ।

प्रकाशित मिति: बिहिबार, चैत्र १३, २०७०