शनिबार, बैशाख १५, २०८१

कृषकलाई चल्ला र बाख्रा वितरण

हेटौँडा, ११ चैत । मकवानपुर जिल्लाको पश्चिम भेगमा पर्ने १० गाविसका कृषकले लगाउँदै आएको अवैध गाँजा र अफिमखेती नियन्त्रण गरी वैकल्पिक आयआर्जनका लागि उनीहरूलाई सरकारीस्तरबाट कुखुराका चल्ला र बाख्रा वितरण गरिएको छ ।

गाँजा र अफिमको उत्पादन क्षेत्रबाट प्रभावितमध्ये राक्सीराङ गाविस–५ तथा सरीखेत गाविस–७ का करिब एकसय कृषक परिवारलाई आयआर्जनका लागि जिल्ला पशुसेवा कार्यालयका तर्फबाट आज चैनपुरमा आयोजित एक कार्यक्रममा एक हजार वटा कुखुराका चल्ला तथा जनही रु एक हजार अनुदान वितरण गरियो ।
प्रत्येक कृषक परिवारलाई १० वटा कुखुराका चल्ला र पाँच केजी दाना उपलब्ध गराइएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले बताउनुभयो ।
त्यस्तै जिल्लाको कालिकाटार गाविसको वडा नं ४, ६ र ७ का १०० कृषक परिवारलाई बाख्रापालन गर्न रु दुई लाख ७४ हजार अनुदान रकम वितरण गरिएको छ ।
बाख्रापालन गर्ने प्रत्येक कृषकलाई खोर तयार पार्न रु दुई हजार ५०० अनुदान र १० वटा बोका पनि वितरण गरिएको सो कार्यालयबाट थाहा भएको छ ।

प्रकाशित मिति: मङ्लबार, चैत्र ११, २०७०