सोमवार, जेष्ठ ७, २०८१

राहत नआउँदा केरा किसान चिन्तित

चितवन, ६ चैत । रु नौ करोडको क्षति बेहोरेका चितवनका केरा किसान विगत आठ महिनादेखि राहतको पर्खाइमा बसेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिमार्फत सरकारलाई क्षतिपूर्तिका लागि सिफारिस गरेको भए पनि अहिलेसम्म राहत नआएको चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले बताउनुभयो । गएको भदौमा वर्षासँगै आएको हावाहुरीले चितवनको रत्ननगरलगायत विभिन्न क्षेत्रमा लगाएको केरामध्ये रु नौ करोड बढीको क्षति भएको थियो ।
यहाँको रत्ननगरलगायत विभिन्न क्षेत्रमा केरा हावाहुरीले ढालेको थियो । जिल्ला कृषि विकास कार्यालय लगायत केरा व्यवसायीको संयुक्त अनुगमन टोलीले गरेको अनुगमनमा समेत उक्त क्षति पुष्टि गरेको थियो । विगत समयमा केरा नष्ट हुँदा सरकारले न्यूनतम मूल्य तोकेर राहत दिएको थियो । यसपालि पनि सोहीअनुसार राहत आउने आसमा कृषि मन्त्रालयमार्फत केरा किसानले निवेदन दिएका थिए । तर करिब आठ महिना पुग्न लाग्दासमेत राहत नआउँदा केरा किसान चिन्तित भएका छन् । केरा व्यवसायी समिति चितवनका अध्यक्ष यज्ञ सुवेदीले राहत आउने आशमा निरास भएको बताउनु भयो । अर्थमन्त्रालयमा पुगेर फाइल अड्किएको बताउँदै सुवेदीले केही दिनभित्रैमा मन्त्रालयमा केराकिसानको टोली दबाब दिन जाने तयारी भएको बताउनुभयो ।
कृषि मन्त्रालयको सहसचिव स्तरको अनुगमन टोलीले कम्तीमा रु तीन करोड क्षतिपूर्ति दिनुपर्ने भनी सरकारलाई सिफारिस गरेको छ । हावाहुरीले केरा ढाल्दा दसैँको मुखमा केरा बेच्ने तयारीमा रहेका कृषक बढी मारमा परेका थिए । पूर्वी चितवनको रत्ननगर, जुटपानी, पिठुवा र पदमपुर Ôेत्रका सयौँ केरा बगानमा हावाले केरा ढालेको स्थानीयले बताएका छन् । हावाहुरीका कारण कतिपय व्यवसायी सडकमा आउनुपर्ने अवस्था सिर्जना भएको केरा व्यवसायी समिति चितवनका अध्यक्ष यज्ञ सुवेदीले बताउनुभयो । यो क्षेत्र केरा उत्पादनको पकड मानिन्छ । तर बर्सेनि हावाहुरीले उनीहरूलाई करोडौँको क्षति हुँदै आएको छ । गएको अघिल्लो वर्ष पनि यहाँ आएको हावाहुरीले करोडभन्दा बढी क्षति भएको थियो । यहाँ २५० भन्दा बढी केरा व्यवसायी रहेका छन् । करिब केराबाट रु २५ करोडभन्दा बढीको जिल्लामा वार्षिक कारोबार हुने गरेको छ । -कृषि साप्ताहिक

प्रकाशित मिति: बिहिबार, चैत्र ६, २०७०