बुधबार, बैशाख २६, २०८१

भारतमा अनपेक्षित असिना वर्षापछि किसानले आत्महत्या गरे

मुम्बई, ६ चैत । भारतको पश्चिमी महाराष्ट्र राज्यमा अनपेक्षित रुपमा परेको असिना तथा वर्षाले शीतकालिन बाली नष्ट भई दसौँ लाख अमेरिकी डलर बराबर क्षति पुगेपछि किसानहरुले आत्महत्या गर्न थालेको जानकारी मानव अधिकारवादी कार्यकर्ता तथा राजनीतिज्ञहरुले बुधबार दिएका छन् । मुम्बई महाराष्ट्रको राजधानी हो र फेब्रुअरीको अन्त्यदेखि यहाँ अनपेक्षित रुपमा मौसममा परिवर्तन भएको छ र बालीमा क्षति पुगेको छ । महाराष्ट्रका मुख्यमन्त्रीको कार्यालयका एक सूत्रले एएफपीलाई सात व्यक्तिले यसै कारण आत्महत्या गरेको पुष्टि भएको बताए । केहीको वर्षाकै कारण मृत्यु भएको बताइएको छ । प्रतिपक्षी तथा मानवअधिकारवादी कार्यकर्ताहरुले सरकारले दिएको तथ्याङ्क निकै कम भएको बताइएको छ । किसानका विषयमा वकालत समूह विदर्भ जनआन्दोलन समितिका अध्यक्ष किशोर तिवारीले असिना वर्षा आरम्भ भएपछि महाराष्ट्रमा ३२ किसानले आत्महत्या गरेको र आफूहरुले यस विषयमा जानकारी प्राप्त गरिरहेको बताए ।
तिवारीले शव परीक्षण गरेपछि थप व्यक्तिको मृत्यु भएको देखिने पनि उनले जानकारी दिए । भारतका प्रमुख प्रतिपक्षी समूह भारतीय जनता पार्टीले मर्ने किसानको सङ्ख्या ३७ नाघेको जानकारी दिएको छ । उसले प्राकृतिक प्रकोपलाई पनि राष्ट्रिय विपत्तिको रुपमा लिन आग्रह गरेको प्रेस ट्रस्ट अफ इन्डियाले उल्लेख गरेको छ ।     भारतीय जनता पार्टीका वरिष्ठ नेता गोपीनाथ मुन्डेले फेब्रुअरी २८ मा असिना पर्न थालेपछि १६ लाख हेक्टरमा लगाइएको बाली नष्ट भएको बताए । यस क्षेत्रमा प्रायः उष्णप्रदेशीय मनसुन वर्षा हुने भए पनि यस वर्षाले अङ्गुर, आँप, मेवा, कागती तथा तरबुजाको खेती नष्ट भएको बताइएको छ । ऋणको भारमा परेका बापु रामचन्द्र पवरले लगाएको अनारको खेती नष्ट भएपछि उनले आत्महत्या गरेका छन् । मुख्यमन्त्री पृथ्वीराज चह्वाण आफू पीडित किसानको पक्षमा रहेको बताउनुभएको छ । उहाँले प्रभावित व्यक्तिलाइ यस्तो तनावका कारण आत्महत्या नगर्न आग्रह गर्नुभएको छ । भारतमा आउँदो महिना निर्वाचन हुने भएको छ र भारतीय जनता पार्टीका प्रधानमन्त्री पदका उम्मेदवार नरेन्द्र मोदीले उक्त क्षेत्रको बिहीबार भ्रमण गर्नुहुनेभएको छ । उहाँले विदर्भमा एक सार्वजनिक सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ । यहाँ बढी मात्रा किसानले आत्महत्या गरेका छन् । महाराष्ट्रका मन्त्रीहरुको एक प्रतिनिधि मण्डलले गत शुक्रबार प्रधानमन्त्री मनमोहन सिंहलाई भेट गरी खराब मौसमका कारण प्रभावित व्यक्तिहरुको उद्दारका लागि ५० अर्ब रुपैयाँ माग गरेका छन् । -कृषि साप्ताहिक

प्रकाशित मिति: बिहिबार, चैत्र ६, २०७०