शनिबार, बैशाख १५, २०८१

अत्यधिक आँपको उत्पादन हुनेमा किसानहरु आशावादी

manjariगोलबजार (सिरहा), २ चैत । सिरहाका कृषक यस वर्ष आँपको रूखमा अत्यधिक मञ्जरी (फूल) लागेको देखेर किसानहरु खुसी भएका छन् । आँपको राजधानी भनेर चिनिने सिरहामा गत वर्ष आँप उत्पादनमा ८० प्रतिशत ह्रास आए पनि यो वर्ष अत्यधिक उत्पादन हुने किसानले विश्वास व्यक्त गरेका छन् । “आँपको रूखमा पात कतै पनि देखिँदैन”– गुरुधामका माधव थपलियाले भन्नुभयो–“आँपको बोट मञ्जरीले ढाकेको छ । त्यसैले मञ्जरीमा कीरा नलागे यस वर्ष आँपको उत्पादन निकै बढ्नेमा ढुक्क छु ।” मञ्जरी सप्रियो भने जिल्लामा एक अर्ब रुपैयाँभन्दा बढीको आँप उत्पादन हुने सङ्केत देखिएको जिल्ला कृषि विकास कार्यालय सिरहाको अनुमान छ । जिल्लामा चार हजार ७०० हेक्टर जग्गामा आँपखेती रहेको कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत रामनारायण महतोले जानकारी दिनुभयो । जिल्लामा चार लाख ७० हजारभन्दा बढी आँपको रूख रहेको कार्यालयको तथ्याङ्क छ । देशकै सबभन्दा बढी आँप बगैँचा भएको जिल्ला सिरहा रहेको कृषि प्रसार अधिकृत महतोको दाबी छ ।
जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार गत वर्ष सिरहामा प्रतिहेक्टर साढे सात मेट्रिक टनको हिसाबले आँप उत्पादन भएको थियो भने यो वर्ष प्रतिहेक्टर १७ मेट्रिक टन आँप फल्ने अनुमान गरिएको छ । यस जिल्लामा एक वर्ष बिराएर फल्ने आँपको जातको बाहुल्यता रहेको महतोको भनाइ छ ।

प्रकाशित मिति: आइतवार, चैत्र २, २०७०