शनिबार, बैशाख १५, २०८१

धादिङलाई ताजा सागसब्जी केन्द्र बनाउने महासंघको घोषणा

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले राजधानीसँग जोडिएको धादिङ जिल्लालाई ताजा सागसब्जीको केन्द्रका रूपमा विकास गर्ने घोषणा गरेको छ । राजधानीवासीको बढ्दो हरिया तथा ताजा तरकारीको मागलाई पूरा गर्न महासंघले एक गाउँ एक उत्पादन कार्यक्रमअन्र्तगत उक्त जिल्लालाई ताजा सागसब्जीका केन्द्र बनाउन लागेको हो । एक गाउँ एक उत्पादन कार्यक्रमअन्तर्गत महासंघले आगामी तीन महिनाभित्र उक्त जिल्लामा ‘टमेटो सस’ उद्योग स्थापना गर्ने तथा त्यस निम्ति आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “निर्धारित समयमै उक्त उद्योग सञ्चालनमा आउनेछ ।” व्यावसायिक कृषि विकासका लागि अत्यधिक सम्भावना भएको तथा राजधानीबाट नजिक हुनका साथै यातायातको पर्याप्त सुविधा भएकाले ताजा सागसब्जीको केन्द्र र अन्य उद्योगहरू पनि विस्तार गर्दै जाने नीति महासंघले लिएको जनाइएको छ । महासंघले सरकारको सहयोगमा एक गाउँ एक उत्पादन कार्यक्रमलाई हरेक वर्ष देशका विभिन्न गाउँमा विस्तार गर्दै जाने नीतिअनुरूप सस उद्योग सञ्चालनको अन्तिम तयारी भएको जनाइएको छ ।

प्रकाशित मिति: आइतवार, पुस २८, २०७०