शनिबार, बैशाख २२, २०८१

डडेल्धुरामा गाविसमा खाद्य सुरक्षा आयोजना

डडेल्धुरा, २३ पुस । खाद्य सङ्कटको उच्च जोखिममा रहेका डडेल्धुराका १० गाविसमा खाद्य सुरक्षा कार्यक्रम लागू गरिएको छ । सङ्कटग्रस्त क्षेत्रमा खाद्य सुरक्षा प्रवद्र्धनका लागि जिल्ला कृषि विकास कार्यालय र पशुसेवा कार्यालय, जिल्ला स्वास्थ्य कार्यालयमार्फत कृषि विकास मन्त्रालयले कृषि तथा खाद्य सुरक्षा आयोजना सुरु गरेको हो । पाँच वर्षभित्रमा खाद्य सुरक्षाको प्रत्याभूति गराउने लक्ष्यका साथ जिल्लाका १० गाविसमा कार्यक्रम सुरु गरेको जनाइएको छ । बर्सेनि खाद्य असुरक्षा बढ्दै गएपछि यहाँ उन्नत बीउ प्रवद्र्धन, साना सिँचाइको विकास, कृषि प्रणालीको आधुनिकीकरण, उन्नत पशुपालन, बजारीकरणमा सुधार लगायतका कार्य थालिएको हो । प्रारम्भिक सर्वेक्षणमा खाद्य सुरक्षाको अवस्था नाजुक रहेका गाविसमा पहिलो चरणमा कार्यक्रम सुरु गरिएको हो । उत्पादनमा ह्रास, परम्परागत खेती तथा पशुपालन प्रणाली, बाढीपहिरोको चपेटा, सीप र बजारीकरणको अभाव, सिँचाइ सुविधाको अभाव लगायतका कारणले डडेल्धुरामा खाद्य सङ्कट बढ्दै गइरहेको छ ।

प्रकाशित मिति: मङ्लबार, पुस २३, २०७०