शुक्रबार, माघ ९, २०७७

नेपालको कृषि विकासका लागि महत्वपूर्ण कोरियन कृषि प्रणाली

दक्षिण कोरिया सत्तरी असी वर्ष अघि आज नेपालले अपनाए जस्तै कृषि प्रणाली अपनाउँदथ्यो । आज कोरिया कृषि क्षेत्रमा आत्मनिर्भर भइसकेको छ । यसरी आत्मर्भिर हुनुमा कोरियाली मानिसहरुको श्रम महत्वपूर्ण छ । त्यस्तै प्रविधिलाई छिट्टै आत्मसाथ गर्ने कोरियालीको स्वभाव पनि अत्यन्तै सराहनीय छ । नेपाललाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन हामी कोरियाबाट धेरै पाठ सिक्न सक्छौं किनभने कोरिया र नेपालको पहाडी हावापानी ,जाडो मौसममा बाहेक उस्तै छ र माटोको गुण पनि मिल्दो जुल्दो नै छ । त्यहाँको जाडो मौसम भने नेपालको हिमाली हावापानीसँग मेल खान्छ । पहाडी भूभागमा कुषिक्षेत्रलाई उन्नत अवस्थामा लैजान कोरियन कृषि प्रणाली अपनाउने हो भने हामी छिट्टै आत्मनिर्भर हुन सक्छौं ।

कोरियासँग आफ्नै खनिज खानीहरु नहुनाले पहिले पहिले कृषि क्षेत्रमा प्रयोग हुने औजारहरु जापनिज , चाइनिज र इन्डियन हुने गर्दथे त्यसका विभिन्न झन्झटहरु थिए । बिग्रेको सामानको अर्को पार्टपूर्जा नपाइनाले ज्यादै खर्चिलो र समयको बर्बाद हुने गर्दथ्यो । आज कोरियाले विदेशबाट कच्चा पदार्थ आयात गरी आफ्नै कृषि औजार , सामग्रीहरु प्रयोग गर्दै आएको छ । त्यसले धेरै किसिमका झन्झटबाट मुक्ति मिलेको छ ।
वैज्ञानिक कृषि प्रणाली अपनाएपछि कोरियासँग आज अत्याधुनिक झार काट्ने औजार , १५ देखि २० रोपनी बारीमा एक्लैले रासायनिक मल छर्न सक्ने औजार, धानमा औषधि हाल्न हेलिकप्टर सहितको ड्रोन जस्ता देख्दा पनि रमाइलो लाग्ने औजारहरु छन् । त्यसले समयको बचतका साथै काम गर्दा हुने अत्यधिक शारीरिक श्रमलाई समेत हल्का बनाई दिएको छ । वातानुकुलित ग्रीन हाउसको प्रयोगले त कृषि क्षेत्रले फड्को नै मारेको छ । हामीकँहा कृषकलाई अनुदान दिने चलन छ त्यसको साटो कोरियाको जस्तै प्रविधि किसानलाई दिने हो भने राज्यले अरबौंको खाद्य सामग्री आयात गर्नै पर्दैन ।

कोरिया चीसो मौसम हुने देश भएको हुँदा बाहिर बारीमा खेती गर्दा बाली पाक्न सात आठ महिना कुर्नु पर्ने हुन्छ । ग्रीन हाउसको प्रयोग गरी छिटो उत्पादन हुने खेती लगाउँदा वर्षमा चार पटकसम्म उत्पादन गर्न सकिने हुन्छ । त्यसले कृषकको आम्दानी पनि बढ्छ , रोजगारी बढ्छ र राज्यको धन बाहिर जान पनि रोकिने हुन्छ । नेपालमा यो काम गर्न सके धेरै फााइदाजनक हुनेछ ।

कोरियाले उन्नत जातका बीउको प्रयोग ,ड्याङ पद्धतिको प्रयोग (ड्याङहरु सीधा सीधा हुनुपर्दछ ¬) , ड्याङमाथि झार नआओस् भनेर सेतो र कालो रङको प्लास्टिकको प्रयोग गर्दछ जसले भित्रको माटोको चीसोपन समेत मर्न दिँदैन ,त्यसमाथि बनाईएका प्वालहरुमार्फत बीउ तथा बिरुवा रोप्ने गर्दछ । जसको कारण बिरुवाहरु राम्रो हुनुका साथै उत्पादनमा समेत बुद्धि हुने हुन्छ । यस किसिमका सीपको प्रयोग गर्ने हो भने नेपाल छिट्टै कृषि क्षेत्रमा आत्मनिर्भर बन्न सक्ने थियो ।

छोटा रुखमा फल्ने तरकारी बालीलाई कोरियाले एउटै छानोमुनि गमलाको प्रयोग गरेर तला तला बनाएर खेती गर्दछ । च्याऊ खेती गर्ने सबै फार्महरु यस्तै विधिबाट सञ्चालित छन् । जसले खेती गर्दा हुने जमीनको अभावबाट समेत छुटकारा मिल्दछ । यस्ता धेरै तरकारी फार्महरु त्यहाँ देख्न सकिन्छ । नेपाल पनि कोरिया जस्तै सानो देश भएको कारण जमीनको अभावलाई कम गर्न यस्तो प्रक्रिया अपनाउन कन्जुस्याईं गर्न हुँदैन ।
जङ्गलका छेऊहरुमा हुने बाहिरी बारीहरुमा कोरियनहरु जङ्गली जनावरबाट हुने हानी नोक्सानीबाट छुटकारा पाउन प्लास्टिकको डोरीवाला जाली प्रयोग गर्दछन् । जसलाई स्थानीय भाषमा माङ भनिने रहेछ । जाली देखेपछि मृग लगायत जनावरले बाली खान भित्र नजाने रहेछन् । यस्तो माङ प्रायः तीन फिट अग्लो हरियो रङको हुने गर्दछ । जसले बालीको सुरक्षा हुन्छ । हामी जस्तै कतिपय कोरियनहरु चराहरुबाट बालीको नोक्सान नहोस् भनेर कपडाको मान्छेको पुत्ला पनि प्रयोग गर्दछन् । यसको सट्टा आजकल समय समयमा कराउने साइरन पनि प्रयोग गरिन्छ ।

व्यापारिक प्रयोजनको लागि गरिने खेतीको इन्स्युरेन्सले किसानलाई फाइदा हुने हुँदो रहेछ । यदि कुनै किसानलाई बाली बेच्दा फाइदा नहुने देखियो भने किसानले खबर गरेपछि इन्स्युरेन्स कम्पनीले खेती लगाउँदा भएका सबै खर्च दिने र बालीलाई ट्याक्टरले जोतिदिने गर्दछन् । पैसा लिएर बाली पुनः बेच्न सक्ने खतराबाट बच्न र इन्स्युरेन्स कम्पनी ठगिने क्रम हल गर्न बाली समेत यसरी जोतिएको हो । यसो गर्दा फाइदा हुने अवस्थामा किसानले कहिले पनि इन्स्युरेन्सको दाबी नगर्ने हुन्छ । जसले कानुनी प्रक्रियाको झन्झटमा फस्नबाट बचाउँछ । यस्ता कुराहरुबाट नेपालले पाठ सिक्नुपर्दछ ।

त्यस्तै बाली लगाउन ठेक्का दिने चलन पनि हुँदो रहेछ । यदि कुनै होटलवाला वा तरकारी मन्डीवालाले कुनै किसानलाई मानौ दस रोपनी कुनै खेती गरिदिन अग्रिम भुक्तानी दियो तर त्यसरी गरिएको खेतीको पनि मालिक भने किसान स्वयं हुने रहेछ । सो बालीको मूल्य निर्धारण किसान स्वयंले गर्ने हुँदा यसले किसानलाई फाइदा नै हुने रहेछ । बिचौलिया छिर्न नसक्ने यस्तो विधि नेपालमा पनि हुने हो भने कृषकले मनग्गे धन कमाउन सक्ने थिए र कृषि क्षेत्र फस्टाउने थियो ।

नेपालमा आँप ,सुन्तला , स्याऊ , आदि फलहरु पूmल नफुल्दै यस सालको लागि बोटको यति रुपैंया भनेर व्यापारीले किने जस्तै कोरियामा भने हरेक बालीको प्रकृति हेरेर अग्रिम बेच्न मिल्ने रहेछ । यसले गर्दा किसानको हातमा पैसा परिराख्ने हुन्छ । बेचिसकेपछि बालीको हेरचाह गर्न किन्ने मान्छेले किसानलाई नै दिएमा औषधोपचार र श्रम खर्च भुक्तानी गर्दछन् । यसले बाली लगाउने बित्तिकै पैसा आम्दानी हुने हुँदा किसानलाई बाली बिग्रेर हुने समस्याबाट छुटकारा मिल्ने देखियो । मिहिनेत साथ काम मात्र गय्रो भने कुनै पनि तनाव लिन नपर्ने यस्तो सरल उपायहरु नेपालले पनि अपनाउन जरुरी छ । जसले श्रम गर्ने किसानको टाउको हलुङ्गो हओस् ।

कोरियाली युवावर्गमा कृषि क्षेत्रको आकर्षण बढ्दो छ । कृषि अध्ययन गर्ने विद्यार्थीहरुले कोरियाको अनिवार्य २२ महिने सैन्य तालिम लिन नचाहेमा लिन पर्दैन । त्यसले पनि कृषि अध्ययन गर्ने विद्यार्थी बढ्दै छन् । कृषि अध्ययन गर्ने विद्याथीले आपूmले अध्ययन गरेको विषमा एक वर्ष प्राक्टिकलको लागि अन्य व्यक्तिको फार्ममा गएर काम गर्नुपर्ने हुन्छ । त्यस्तै अध्ययन गरेपछि तीन वर्षसम्म आपूmले अध्ययन गरेको विषयको क्षेत्रमा अनिवार्य रुपमा श्रम गर्नुपर्ने हुन्छ । बिचमा अर्को क्षेत्रमा गएर काम गर्न पाईंदैन । सरकारले लिएको यस्तो नीतिले विज्ञ बन्न लागेको क्षेत्र छोडेर अन्य क्षेत्रमा गई काम गर्दा देशलाई हुने हानी नोक्सानीबाट बचाउन मद्दत गरेको छ । यो पाठ पनि हामीले सिक्नु जरुरी छ ।
कोरियाले श्रम , सीप र विधि सबैमा मौलिकता मिसाएको छ । कोरियाली कृषि क्षेत्र युरोपको कृषि प्रणालीलाई पच्छ्याउने भए तापनि उसले आफ्नो मौलिक विधिहरु विकास गर्न कन्जुस्याईं गरेको छैन । त्यसैले उसको उत्पादन र बजार आफ्नै देशको लागि लक्षित छ । कोरियाली कृषि क्षेत्रमा काम गर्न नेपाली युवाहरु प्नि गएका छन् र उनीहरुले त्यहाँ खेतीका तरिकाहरु सिक्ने अवसर समेत प्राप्त गरेका छन् । यसले हामीलाई कृषि क्षेत्रमा कोरियाली पद्धति अपनाउन निकै सहयोग पुग्नेछ । कोरियन गैर सरकारी संस्थाहरुले पनि त्यसमा सहयोग गर्नेछन् । यसले हामीलाई त्यहाँको पद्धति अपनाउन झनै सजिलो हुने देखिन्छ । यसको लागि सरकारले सही कार्यदिशा अपनाएमा हामी छिट्टै कृषिक्षेत्रमा आत्मनिर्भर हुन सक्छौं ।         -हरिकृष्ण खतिवडा(अपरुष)

प्रकाशित मिति: शनिबार, पुस ११, २०७७