शनिबार, बैशाख १५, २०८१

पाँचथरमा अलैँचीको मूल्य वृद्धि

पाँचथर, २ पुस । पूर्वी पहाडी क्षेत्रको प्रमुख नगदे वाली अलैँचीको मूल्यमा वृद्धि भएको छ । व्यापारीले किसानबाट ग्रेडिङ गरेको अलैँची प्रतिमनमा ३२ हजार रुपैयाँसम्ममा खरिद गर्न थालेका छन् । चालु माल भनिने ग्रेडिङ नगरिएको अलैँची प्रतिमनमा २९ हजार रुपैयाँमा विक्री हुन थालेको छ । अलैँचीको मूल्यमा शनिवारदेखि वृद्धि भएको हो । नेपाल अलैँची व्यवसायी सँघका पाँचथर अध्यक्ष खेमनाथ अधिकारीले भारत र भुटानमा उत्पादित अलैँची अन्तराष्ट्रिय बजारमा सकिदै गएकोले मूल्य वृद्धि भएको हुन सक्ने बताए ।
अलैँचीको मूल्यमा वृद्धि भएपछि किसानहरु उत्साहित भएका छन् । बगानदेखि टिपेर घरमा थन्क्याएर मूल्य वृद्धिको पर्खाइएका बसेका किसानहरुले अव बजारमा अलैँची धमाधम ल्याउने व्यवसायीहरुको अपेक्षा छ । यसअघि भने निक्कै कम किसानले मात्रै बजारमा अलैँची ल्याएका थिए । नयाँ अलैँचीलाई भदौको अन्तिमदेखि बजारमा विक्रीका लागि ल्याइदा प्रतिमन ३५ हजारसम्म मूल्य निर्धारण गरिएको थियो । तर क्रमशः मूल्य घट्दै प्रतिमनमा २५ हजार रुपैयाँसम्म पुगेको थियो ।
यद्यपी मध्य मंसिरदेखि भने अलैचीको मूल्य उकालिएको छ । मूल्यमा देखिएको अस्थिरताले किसान अलैँची विक्री गर्न दोधारमा छन् । २ वर्षअघि अलैँचीले सर्वाधिक मूल्य प्रतिमनमा १ लाख २० हजारसम्म पाएको थियो । व्यापारीले मिसावटयुक्त अलैँची अन्तराष्ट्रिय बजारमा पु¥याएपछि मूल्य क्रमशः ओरालो लागेको हो । अलैँची खेती सम्वन्धिका जानकारी डा.पदम खतिवडाले यसको प्रत्यक्ष मार किसानसँगै मुलुकको अर्थतन्त्रमा परेको बताए । जङ्ग तामाङ

प्रकाशित मिति: आइतवार, पुस २, २०७४