मङ्लबार, चैत्र ६, २०८०

सहकारीद्धारा अनुदानको मलमा कालोबजारी

वीरगञ्ज, असोज । पश्चिम पर्साको पकहामैनपुर १ ठोरेका नरसिंह बाबा सहकारी संस्थाले प्रतिबोरा (५० केजी) रु ७०० मा खरिद गरेको सरकारी अनुदानको रासायनिक मल प्रतिबोरा रु ८०० मा बिक्री गरेको पाइएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय वीरगञ्जले उक्त संस्थाका अध्यक्ष माधवप्रसाद यादवलाई ढुवानी खर्चसमेत प्रतिबोरा रु ७५० भन्दा बढीमा बेचेमा कारबाही गर्ने चेतावनी दिँदै आएको थियो ।
अध्यक्ष यादवले क्षेत्रीय प्रवन्धक अजयकुमार श्रीवास्तवसमक्ष गुनासो गर्दै भने, “ढुवानी खर्च बढी लाग्ने, बाटोभरि ट्राफिक प्रहरीले रकम लिने गरेकाले प्रतिबोरा रु ७५० मा बेच्दा घाटा लाग्दछ । ” प्रतिबोरा रु ८०० मा बेच्ने उक्त सहकारी एउटा प्रतिनिधिपात्र मात्र हो जिल्लामा ११० सहकारी संस्थामार्फत कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालयले किसानमाझ रासायनिक मल पु¥याउँदै आइरहेको छ ।
रासायनिक मलको कालोबजारी तथा कृत्रिम अभाव सिर्जना भएपछि जिल्लाका ग्रामीण क्षेत्रका किसान प्रभावित हँुदै आएका छन् । माग अत्याधिक भए पनि संस्थानले प्रतिसहकारी संस्थालाई एक पटकमा १०० बोरा मात्र रासायनिक मल दिने गरेको छ तर ग्रामीण क्षेत्रमा रहेका सहकारी संस्थाले मलको अभाव देखाएर बढी मूल्यमा बेच्ने गरेको पाइएको छ ।
सहकारी संस्थाले कृत्रिम अभाव सिर्जना गर्नु, बाटोमै अन्य व्यापारीलाई बढी मूल्यमा बिक्री गर्नुजस्ता करणले अहिले रासायनिक मल अभाव देखिएको छ । जबकि कृषि समाग्रीसँग अहिले पनि रासायनिक मल ३०० मेट्रिकटन, डिएपी ६५८ मेट्रिकटन तथा पोटास ६.९ मेट्रिकटन मौज्दात छ ।
एउटा ट्याक्टरमा १०० बोराभन्दा बढी मल राखिएको पाइएमा अलौचोकमा रहेको ट्राफिक प्रहरीले जरिवाना लिने, जथाभावी रकम असुल्ने गरेकाले खर्च धान्न प्रतिबोरा ८०० मा युरिया मल बेच्नुपर्ने गुनासो गर्दै नरसिंह बाबा सहकारी संस्थाका अध्यक्ष माधवप्रसाद यादवले भने, “कृषि समाग्री कम्पनीले एक पटकमा १०० बोरा मात्र मल दिने भएकाले खर्च उठाउन प्रतिबोरा ८०० मा बिक्री गर्ने गरेको हो ।”
क्षेत्रीय प्रबन्धक अजयकुमार श्रीवास्तवले बढी मूल्यमा मल बेचेको सूचना आएमा टोली खटाइ छानबिन गर्न लगाउने र बढी मूल्य लिएकोे पाइएमा त्यस्ता सहकारी संस्थाको प्रमाणपत्र खारेज गरिने बताए । उक्तकम्पनीले पर्सा जिल्लामा मात्र आर्थिक वर्ष ०७४÷७५ मा युरिया मल १० हजार ३७५ मेट्रिकटन, डिएपी पाँच हजार ७९९ मेट्रिकटन तथा पोटास १५१ मेट्रिकटन रासायनिक बिक्री गरिसकेको र आर्थिक वर्ष ०७५÷७६ को साउन महिनामा मात्र नौ हजार ६९८ मेट्रिकटन मल बिक्री गरिसकेको जनाएको छ ।
कम्पनीले क्षेत्रीयस्तरमा पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सिन्धुली, मकवानपुर, काभ्रे, धादिङ, काठमाडौँ, त्रिशूली, चितवनलगायतका क्षेत्रमा रहेको २० हजार ११४ सहकारी संस्थामार्फत आर्थिक वर्ष ०७४/७५ मा ५८ हजार १३९ मेट्रिकटन मल बिक्री गरेको छ ।
आन्द्र प्रदेशको बैशख्खापटन बन्दरगाहमा सात हजार पाँच सय मेट्रिकटन रसायनिक मल अड्किएको छ भने बाटोमा पाँच हजार मेट्रिकटन मल आइरहेकाले हाल यस क्षेत्रमा मल अभाव देखिएको हो । रसायनिक मल अभावको मौका छोपी सहकारी संस्थाले आफूखुशी बढी मूल्यमा मल बिक्री गर्ने गरेकाले धानखेती गर्ने किसानलाई समस्या परेको हो । – वीरेन्द्र कर्ण

प्रकाशित मिति: आइतवार, अशोज ७, २०७५