बिहिबार, बैशाख २०, २०८१

भात खान नपाउनु कसरी खाद्य असुरक्षा ?

dilaram bhandari
डिलाराम भण्डारी
महानिर्देशक
कृषि विभाग

० कृषि विभागको महानिर्देशक भएर आएपछि नेपालको कृषि क्षेत्रको भविष्य के देख्नु भएको छ ?
अहिलेको सन्दर्भमा नेपालको कृषि क्षेत्रलाई विश्लेषण गर्ने हो भने निर्वाहमुखि कृषि प्रणालीलाई व्यवसायिकरण तर्फ उन्मूख भएको देखिन्छ । व्यवसायिकरण शुरुवाती भईसकेको भएपनि अहिले दोस्रोमा चरण अगाडि बढेको छ । तर पनि हामी निर्वाहमुखिबाट पूर्ण रुपमा व्यवसायिकरण हुन सकिरहेको छैनौं । विगत ४०–५० वर्षदेखि कृषिमा व्यवसायिकरण गर्नु पर्दछ भन्ने सोचमा हामी हिडिरहेका छौं । नेपालको कृषि क्षेत्रको भविष्य धेरै नै उज्वल छ । अव पनि हामीले निर्वाहमुखि भन्नु जरुरी छैन ।
० अझै पनि कृषि उपज आयात गरिरहनु परेको अवस्थामा कृषि क्षेत्र व्यवसायिकरण भयो भन्ने आधारहरु चाहि के हो त ?
अहिले खाद्य सुरक्षाको दृष्टिकोणले तपाईले भने जस्तै आयात गरेको देखिन्छ । हाम्रो विगत लामो प्रयासबाट उत्पादकत्व बढेको छ । ४० बर्षको तथ्यांक हेर्नु भयो भने मकै, धान, कोदो, जौ, फापर तरकारी र फलफूलको  उत्पादन बढेको छ । यद्यपी अहिले जुन आवश्यकता छ त्यो अनुरुप हुन सकेको छैन । कारण पछिल्लो समयमा नेपालीहरुमा खाने बानीमा परिवर्तन हुंदै आएको छ । फलफूल, माछा, मासु, दूध, पीठोजन्य खाद्यान्न  खानु पर्दछ भन्ने सोच बढेको छ । त्यसले गर्दा पनि हाम्रो माग र आपूर्ति नमिलेको हो । हाम्रो कृषि क्षेत्रको उत्पादकत्व नबढेको भन्ने होइन ।
० विगतको अवस्थालाई हेर्नु भो भने धान, चामल निर्यात हुन्थ्यो तर अहिले आयात बढेको छ स्वीकार गर्नु प¥यो नि ?
नेपालमा चामल आयात बढेको कुरा विभिन्न तथ्यांकहरुले देखाएका छन् । धेरैको मुखबाट पनि सुनिन्छ । महत्वपूर्ण कुरा कहां छुटेको छ भने विगतमा तराईमा प्रशस्त धान उत्पादन हुन्थ्यो तराईको धान चामल पहाडमा लैजान कठिन थियो । पहाड तथा मध्य पहाडका नागरिकहरुले त्यही उत्पादन भएको गहुँ कोदो, मकै नै बढी खाद्यान्नका रुपमा प्रयोग हुन्थ्यो । तर अहिले ठिक उल्टो भएको छ । सडक यातायातको सुविधासँग तराईमा उत्पादन भएको धान चामल पहाडमा पुग्न थालेको छ । पहाडी क्षेत्रका नागरिकहरुले बढी चामल प्रयोग गर्ने गरिन थाल्यो जसले गर्दा चामल आयात हुन थालेको हो भन्दा फरक नपर्ला । तर चामल खान पायो भने खाद्य सुरक्षा भयो, चामल खान पाएन भने खाद्य सुरक्षा भएन भन्ने भन्ने अर्थ अहिले लगाएको देखिन्छ । त्यो सत्य कुरा होइन ।
० त्यसो भए खाद्य सुरक्षा भएन भन्ने कुरा नै गलत हो ?
चामल खान नपाउनु मात्र खाद्य असुरक्षा हुंदै होइन । तथ्यांकले पनि के देखाउछ भने नेपालमा अहिले प्रतिव्यक्ति प्रतिवर्ष १२२ किलो चामल उपभोग बढेको देखिन्छ । त्यो भनेको के हो भने हामीले गहुँ, मकै, कोदो लगायतका कृषि उत्पादन खान छाड्यौं । जसले गर्दा चामल उपभोग गर्ने संख्या बढ्दै गयो । यसको मतलव चामल नपुगेर खाद्य असुरक्षा हो भन्ने अर्थ लगाउनु कत्तिको न्यायोचित हुन्छ ? अन्य खाद्य बाली प्रयोग घट्नुको कारण चामलको आयात बढ्नुलाई खाद्य सुरक्षाको अवस्थासँग जोडिनु हुन्न । खाद्यान्नमा अन्य बालीहरुको तुलनामा धान कति छ भन्ने कुरा पनि हेर्ने हो । नेपालमा खाद्य असुरक्षा भन्ने कुरा म स्वीकार गर्दिन ।
० खाने वानीमा परिवर्तन भयो त्यही भएर चामल आयात गर्नु परेको भन्नु खोज्नु भएको हो ?  
त्यो  पनि एउटा कारण हो । नेपालीहरुको दुई छाक भात खाने बानी बढेर गएको छ । खासमा भन्ने हो दुई छाक भात खाने भनेको बालबालिका र बृद्धले नै हो । त्यो वीचको उमेरकाले  दुई छाक भात खाने होइन । छिमेकी देश भारतमा हेर्ने हो भने प्रतिबर्ष प्रति व्यक्ति ६८ किलो चामल उपभोग गर्दछन् भने हामीकहाँ १२२ किलो छ । त्यस्तै पाकिस्तानमा १७ किलो र अफगानिस्थान १८ किलो प्रतिव्यक्ति छ । भारतमा १ अर्व जनसंख्याले  दुवै छाक भात खाने हो भने के हुन्छ ? त्यहाँको जनसंख्यालाई चामल पुग्दैन । त्यसो भए त्यसलाई खाद्य सुरक्षा भएन भन्न मिल्छ ? भने हामीकहाँ आयात हुने सम्भावना नै हुँदैन । त्यसैले म कृषि विभागको महानिर्देशक भएको हैसियतले हाम्रो चामलको १२२ किलो उपभोग घटाएर ९६ किलो ल्यायौं भने चामल आयात धेरै कम हुन्छ । त्यसकारण हामीले अव गहुँ उपभोगको मात्र बढाउनु जरुरी छ । मकै, फापर, कोदो उपभोगको मात्रा बढाउन सक्यौं भने हामीले कुनै अवस्थामा खाद्य सुरक्षाको समस्या हुंदै हुँदैन । जसरी जनसंख्या बढ्दै जान्छ त्यही अनुपातमा खाद्यान्न उत्पादन बढाउनु पर्दछ । खाद्यान्न बृद्धि गराउने काममा मुख्य बाली धान भएकाले हामीले चैते धानको कार्यक्रम कार्यान्वयन गरिसकेका छौं । नेपालमा पनि दुई बाली लिनु पर्दछ भन्ने हिसावले चैते धानको कार्यक्रम शुरु गर्नुको तात्पर्य नै धानको उत्पादकत्व बृद्धि गर्ने हो । ताकी हाम्रो बढ्दो जनसंख्यासँग धान आयात गर्न नपरोस् भन्ने हो । अहिले नेपालमा १ लाख १२ हजार हेक्टर धान खेती भईरहेको छ । अव ३ लाख पु¥याउने सोचमा छौं ।
० उत्पादकत्व बृद्धि गर्ने कुरा गर्नु भएको छ तर, खेती योग्य भूमि बाँझो हुंदै गईरहेको छन् कृषिमा श्रमशक्ति अभाव छ कसरी उत्पादन बृद्धि होला त ?
खास गरी कृषिका जनशक्ति पलायन भएका छन् जसले गर्दा कृषि हस्तान्तरण हुन सकेन । मैले कृषि गरें तर मेरो छोराले गरेर । यसलाई दुई कुराले विश्लेषण गर्नु आवश्यक छ । अहिले हामी ६५ प्रतिशत जनसंख्याले कृषि गरिरहेका छौं त्यो जनसंख्या घटाउनु प¥यो । हाम्रो कृषिमा संलग्नहरुको संख्या १५–२० प्रतिशतसम्ममा घटाउनु पर्दछ । ती कृषिमा संलग्नहरुलाई आधुनिकीकरण र यान्त्रिकीकरणमा जोडेर प्रति इकाई क्षेत्रफलमा उत्पादकत्व बढाउनु पर्दछ । यसले गर्दा खेती योग्य भूमि बाँझो पनि रहँदैन । उत्पादकत्व पनि बृद्धि गर्न सकिन्छ भन्नेमा हामी ढुक्क छौं ।
० त्यसो भए अवको कति वर्षमा मुलुक आत्मनिर्भर होला त ?
कृषिमा आत्मनिर्भर हुने कुरा भनेको गाह्रो विषय होइन । विगतमा कृषिलाई प्राथमिकता दिएको थिएन । कसैले आत्मसात पनि गरेको थिएन । विगत  ४ वर्षदेखि कृषिको बजेट बृद्धि भएको अवस्था छ । कृषि उत्पादन गर्ने खालका कार्यक्रम बृद्धि भएका छन् । यसको मतलव हामी ४÷५ वर्ष भित्रमा कृषिमा आत्मनिर्भर बन्न सक्छ ।  – वैकुण्ठ भण्डारी

प्रकाशित मिति: सोमवार, चैत्र २८, २०७३