शनिबार, बैशाख १५, २०८१

बारामा ८० प्रतिशत धान रोपाइँ

वीरगन्ज, असार ।  समयमै पानी परेको र मलखाद पनि समयमै उपलब्ध भएकाका कारण बारामा ८० प्रतिशत धान रोपार्इँ सम्पन्न भएको छ ।
जिल्ला कृषि विकास कार्यालय बाराकाअनुसार जिल्लामा ६२ हजार ३५४ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेका छन् । तीमध्ये ३३ हजार ३५४ हेक्टर सिञ्चित र २९ हजार असञ्चित क्षेत्रफल रहेका छन् । जिल्लामा अहिलेसम्म ५० हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ ।
गतवर्ष ६० हजार ४४० हेक्टर क्षेत्रफलमा भएको धानखेतीबाट दुई लाख २८ हजार ६८२ मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष हालसम्मको समग्र स्थिति राम्रो रहेकोले प्रति हेक्टर चार दशमलव चार प्रतिशत मेट्रिक टन धान उत्पादन हुनसक्ने पूर्वानुमान गरिएको जिल्ला कृषि विकास कार्यालय बाराका वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले राससलाई बताए ।
जिल्लामा ८० प्रतिशत किसान धानखेतीमा आश्रित छन् । तीमध्ये ६५ प्रतिशत किसानले मन्सुली, सावित्री, स्वर्णासव—१, राधा, बास्मतीजस्ता जातका धान लगाउँदै आएको बताइएको छ ।

प्रकाशित मिति: शनिबार, असार ३१, २०७४