शुक्रबार, बैशाख १४, २०८१

परीक्षण गरिएका केरा रोप्दै

चितवन, ३ साउन । किसानले प्रयोगशाला परीक्षण (टिस्युकल्चर) गरेका केराका बिरुवा रोप्न थालेका छन् । केराको फेदबाट निस्किएका गाना र पोथ्राको प्रयोग गरी बिरुवा निकाल्दै आएका किसान गानोको टिस्युकल्चर गरेर उत्पादन गरिएका बिरुवातर्फ आकर्षित हुन थालेका छन् ।
यस वर्ष किसानले पाँच हजार ५०० बिरुवा माग गरेकामा केहीले लगाउन थालेका चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले बताए । ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत भारतको महाराष्ट्र राज्यबाट बिरुवा ल्याई लगाउन थालिएको छ ।
टिस्युकल्चर गरेका बिरुवा रोग प्रतिरोधात्कम र उत्पादन क्षमता बढी हुने गर्छ । “यस वर्ष ५० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिएको हो,” चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजन गौतमले भने । प्रति बिरुवा रु ५० पर्छ ।
केराका बोट पहँेलो हुँदै जाने, गुबो कुहिने र बोट सुक्दै जाने रोग देखा परेपछि कृषिविज्ञले टिस्युकल्चर गरेको बिरुवा रोप्न सुझाव दिएका छन् । जिल्लाका अधिकांश किसान मालभोग केरा लगाउँछन । विसं २०६८ देखि उद्योग वाणिज्य संघ चितवनले केराखेती विस्तार गर्न ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम सञ्चालन गरेको हो ।

प्रकाशित मिति: मङ्लबार, साउन ३, २०७४