शनिबार, बैशाख १५, २०८१

दूधको मूल्य बढाउन दुग्ध उत्पादक किसानको माग

चितवन, चैत । दुग्ध उत्पादक किसानहरूले दूधको मूल्य बढाउन माग गरेका छन् । तीन वर्ष हुँदा समेत दूधको मूुल्य वृद्धि हुन नसकेको भन्दै उनीहरूले किसानलाई प्रत्यक्ष लाभ हुने गरी मूल्य बढाउन माग गरेका हुन् । अहिलेको अवस्थामा प्रतिलिटर रु १५ मूल्य वृद्धिको माग गरिएको राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज नेपालका केन्द्रीय अध्यक्ष आनन्द न्यूरेले बताए ।
चितवनको भरतपुरमा भएको केन्द्रीय समितिको विशेष बैठकले मूल्य वृद्धिको निर्णय गरेको र मागको विषयमा सुनुवाइ नभए कडा आन्दोलन गर्ने न्यूरेले बताए । यही चैत १० र ११ गते भरतपुरमा भएको विशेष भेलापछि पत्रकार सम्मेलन गर्दै कृषक समाजले मुल्य वृद्धि लगायत विभिन्न ११ बुँदे माग प्रस्तुत गरेको छ ।
“दुग्ध विकास संस्था र निजी डेरीहरूले अहिले दिँदै आएको मूल्यले लागत खर्च समेत उठ्न नसक्ने भएकाले बाध्य भएर दूधको मूल्य बढाउन माग गरिएको हो,” न्यूरेले पत्रकारमाझ भने – अब सुनुवाइ नभए कडा रूपमा उत्रन्छौं ।”
तीन वर्ष अघि सरकारले किसानलाई ६९ प्रतिशत र व्यवसायीलाई रु ३१ प्रतिशत पाउने गरी दूधको मूल्य रु ८ ले वृद्धि गरेको थियो । त्यसपछि दूधको मूल्य नबढ्दा लागत धेरै भएको अन्नपूर्ण डेरीका सञ्चालक भागिरथ तिमिल्सिना बताए ।
किसानका अनुसार अहिले किसानले प्रतिलिटर रु ४५ मा दूध बिक्री गर्दैआएका छन् । त्यही दूध फ्याट निकालेर डेरी तथा संस्थाले रु ६५ मा बिक्री गर्दै आएको छ । फ्याटको छुट्टै मूल्य पाउँछ । यसरी हेर्दा किसानले भन्दा अन्य व्यवसायी एवम् संस्थाले झण्डै एकसय प्रतिशत नै नाफा पाइरहेको देखिएको समाजका अध्यक्ष न्यूरे बताए । यही नाफाको १५ रुपैयाँ किसानलाई हुने गरी मूल्य बढाउन सरकारसँग माग गरिएको उहाँको भनाइ छ । हाल नेपालमा दैनिक ४८ लाख लिटर दूध उत्पादन हुन्छ । अझै करिव ५ लाख लिटर दूध अपुग छ ।
समाजको विशेष बैठकले दूधको मूल्य वृद्धि सहित विभिन्न ११ बुँदे मागपत्र सार्वजनिक गरेको छ । कृषकलाई सहुलियत ऋण उपलव्ध हुनुपर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रममा पशुपालनलाई समावेश गरिनुपर्ने, पशु विमा कार्यक्रमलाई प्रभावकारी बनाई किसानको हकहितमा बनाइनुपर्ने समाजद्वारा सार्बजनिक मागपत्रमा उल्लेख छ ।

प्रकाशित मिति: शुक्रबार, चैत्र ११, २०७३