शनिबार, बैशाख १५, २०८१

दाना लाग्ने समयमा धानका बाला सुक्न थाले

बम्याग्दी, ८ कात्तिक । दाना लाग्ने समयमा धानका बाला सुक्न थालेकाले म्याग्दीमा यस वर्ष धान खेती प्रभावित भएको छ । फूल फुलेर दाना लाग्ने समयमा परेको झरी, हावाहुरीले बोट ढाल्नुका साथै बाला सुक्ने समस्याले धान उत्पादन प्रभावित भएको हो । पर्याप्त वर्षा, समयमै रोपाइँ र सिँचाइ सुविधा भएकाले कृषि विकास कार्यालयले गत वर्षको तुलनामा पाँचदेखि सात प्रतिशतसम्म धान उत्पादन बढ्ने अनुमान गरेको थियो । बोट राम्रो भए पनि पर्याप्त दाना नलागेको र बोट ढलेकाले अपेक्षा गरेअनुसार धान उत्पादन नहुने बागवानी विकास अधिकृत भोजबहादुर थापाले बताए ।
गतवर्ष १२ हजार ४९२ मेट्रिक टन उत्पादन भएको थियो । म्याग्दीको तीन हजार ८९७ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । दाना पोलिटो हुन नपाउँदै बाला सुक्ने समस्या देखिएपछि कृषक निराश भएका छन् । स्थानीय जातका बाली लगाएको ठाउँमा यस्तो समस्या देखिएको हो । गौरिया जातको धानको आधा जति बोट दाना नलाग्दै सुकेर मरेको स्थानीय कृषक सोचिन्द्र घिमिरेले बताए । “फूल फुल्ने अवस्थासम्म धान राम्रो थियो, तर पछि दाना लाग्न नसकेपछि बाला रित्तै छन्” – घिमिरेले भने । धेरै वर्षसम्म एउटै र रोगी बीउ प्रयोग गरेको, माटो र खराब मौसमका कारण पनि दाना नलाग्ने समस्या देखिएको कृषि प्राविधिकले बताएका छन् ।

प्रकाशित मिति: सोमवार, कार्तिक ८, २०७३