शुक्रबार, बैशाख १४, २०८१

कृषि सूचनाको हव स्थापित गर्ने सोचमा छौं

prakas Sanjel
प्रकाश सञ्जेल
प्रमुख
कृषि सूचना तथा सञ्चार केन्द्र

० अहिले कृषि सुचना तथा सञ्चार केन्द्रले के गरिरहेको छ ?
कृृषि सूचना तथा सञ्चार केन्द्रले पछिल्लो अवस्थामा जुन उदेश्य कृषि सुचना तथा सञ्चार केन्द्रको स्थापनाभएको थियो त्यसैलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । स्थापना कालदेखि खास गरि कृषि सूचना र प्रविधिहरु विभिन्न विषयमा एउटै थलो मार्फत किसानहरु माझ पु¥याउने यस केन्द्रको प्रमुख उदेश्य हो । त्यो उदेश्य हासिल गर्नको लागि अहिले हामीले नविनतम प्रविधिको प्रयोग गर्दै अगाडि बढ्दै गइरहेका छौं । यद्धपि हामीले जुन गतिमा कृषि सूचना प्रवाहलाई कृषकको आकांक्षा अनुरुप एकदमै छिटो र प्रभावकारी होस् भन्ने आम किसानहरुको भावनालाई परिपूर्ति गर्ने मार्ग तिर अगाडि बढि रहेका छौं । तर किसानहरुको आकांक्षा पूर्णरुपमा अहिले नै परिपूर्ति भइसकेको अवस्था भने छैन । त्यसको लागि हामी एकदमै दत्तचिन्त भएर लागिरहेका छौं ।
० पछिल्लो अवस्थामा देशमा रहेका सम्पूर्ण किसान माझ कृषि सूचना पु¥याउने माध्यम कृषि सूचना तथा सञ्चार केन्द्र हो । तर किन त्यसो हुन सकेन ?
यहाँलाई के अवगत गराउँ भने पछिल्लो समयमा जनआकांक्षा एक दमै चुलिएको छ । नवितम प्रविधिहरुको प्रयोग मार्फत उहा“हरुले चाहेको सूचना एकदमै छिटो र छरिएर रहेको सूचना एउटै थलोबाट पाउनु पर्छ भन्ने उहा“हरुको अधिकार र माग पनि हो । तर अहिले कृषि सूचना तथा सञ्चार केन्द्रको संरचनागत अवस्था र यसलाई दिएको योजना, उपलव्ध हुने बजेट, जनशक्ति, स्रोत साधनहरु सवैमा सिमित छन् । त्यो सिमितताको कारणले गर्दा अपेक्षा अनुसार प्रभावकारी हुन नसकेको हो । यसो भन्दैमा कृषि सूचना तथा संञ्चार केन्द्र एकदमै निष्प्रभावित छ,कामै गरेको छैन भन्न विल्कुलै मिल्दैन । हामीले आफै कृषि द्धैमासिक पत्रिका प्रकाशन गरिरहेका छौं तर हामीसँग भएको प्रेस अन्त्यन्तै जिर्ण अवस्थामा छ । प्रेस सञ्चालन गर्नका लागि कोठाको समेत अभाव छ । प्रेस सञ्चालन गर्नका लागि जनशक्ति एक जना मात्र रहेको अवस्था छ । त्यही एक जनाको भरमा हामीले अहिले विभिन्न प्रकाशन, पम्पलेट, पत्रिका, सोल्डर जस्ता प्रविधिहरुसंग द्धैमासिक कृषि पत्रिका प्रकाशन गर्दै आईरहेका छौ ।
त्यसैगरी रेडियो नेपाल र नेपाल टेलिभिजनमा हरेक दिन ६ः४० देखि ६ः५५ सम्म दैनिक कृषि कार्यक्रम समेत प्रशारण गरिरहेका छौं । रेडियो कार्यक्रम सञ्चार केन्द्रले नै उत्पादन गर्ने गरेको छ । देशभरी नै पहुँच भएको नेपाल टेलिभिजन र रेडियो कार्यक्रम हामी नियमित नै गर्ने गर्दछौं भने नीजिका सञ्चार माध्यमहरुलाई पनि हामीसंगै लिएर जान्छौं ।
० कृषि प्रविधिका कुरा किसानसम्म पु¥याउन नसक्नुको कारण जनशक्ति अभाव नै हो त ?
वास्तवमा जनशक्तिको अभाव एउटा मुख्य कारण हो तर अर्काे मुख्य कारण हामीले प्रकाशन गर्ने विभिन्न प्रकाशनहरु समयमा नै प्रकाशन गर्न नसक्नुमा हामीसँग भएको प्रेस र त्यसका आधारभूत आवश्यकताहरु पनि बैज्ञानिक हुन नसकेकै कारण हो पुरानो प्रेस चलाएर बस्नु परेको छ । हामीले आधुनिक प्रविधिहरुलाई अंगिकार गरेर हामीले तयार गरेका कृषि प्रविधि तथा प्राविधिक ज्ञानका कुराहरुलाई हामीले हाम्रो वेवसाईट मार्फत, पिडिएफ फाइल निर्माण गरी सेवाग्राहीसम्म पु¥याउने कोशिश गरिरहेका छौं । हामीले हरेक वर्ष प्रकाशन गर्ने कृषि डायरी, क्यालेण्डर समेत किसानहरुका लागि महत्वपूर्ण सामग्री सहित प्रकाशन गरिरहेका छौ । सिमित श्रोत र साधनलाई कसरी बढी प्रयोग गर्न सकिन्छ भन्नेमा हामी छौं ।
० त्यसो भए तपाईले कृषि सूचनालाई फरक ढंगले अगाडि बढाउनु हुन्छ ?
निश्चय पनि कृषि सुचना तथा सञ्चार केन्द्र अत्यन्त महत्वपुर्ण निकाय हो । वास्तवमा कृषि अनुसन्धान र कृषि प्रसारका विषय बस्तुलाई किसानसम्म पु¥याउने पुलको काम यो कार्यालयले गर्नु पर्दछ । कृषिसंग सम्वन्ध छरिएर रहेका सूचनाहरुलाई एकै ठाउँमा ल्याएर खेतीपाती सम्वन्धि सूचना होस् वा रोग कीरा सम्वन्धि जानकारी मूलक सूचना समेत किसानहरुले माग गर्ना साथ उपलब्ध गराउने सक्ने गरी हामीले कार्यक्रम अगाडि सारेका छौं । हामीले यस कार्यालयलाई कृषि सूचनाको हवका रुपमा विकास गर्ने सोच बनाएका छौं । अहिले मुलुक आफै संक्रमण अवस्थामा छ । खासगरी संघीयतामा प्रवेश गर्दै गरेको सन्दर्भमा छ । संघीयता कार्यान्वयनसँगै कृषि सूचना तथा सञ्चार केन्द्र छ वा छैन भन्ने बहसको विषय भएको छ । अहिले हामीसँग कृषि इन्जिनियरिङ्गको विषयमा जानकारी लिने सोही निर्देशनालयामा पुग्नु परेको छ । बाली संरक्षण वा बाली विकासको जानकारी लिनु पर्ने दुवै निर्देशनालयमा पुग्नु परेको छ । यस्तै तरकारी बाली सम्वन्धी जानकारी लिनु परेमा पनि तरकारी विकास निर्देशनालयमा पुग्नु पर्ने वाध्यता छ । त्यो वाध्यतालाई कृषि सूचनाले हल गर्ने प्रयत्य कसरी गर्ने ? सवै कृषिका जानकारी एकै ठाउँबाट कसरी दिन सकिन्छ भन्नेमा हामी लागिरहेको छौं त्यो गछौं पनि । अहिलेको नयाँ र नविनतम मोवाईल एप्सको प्रयोग मार्फत अथवा एसएमएस मार्फत अथवा हामी युट्युव मार्फत, फेसबुक जस्ता सोसल मिडियाहरु मार्फत पनि किसानहरु वास्तविक समस्यामा सहि समयमा उहाँहरुले खोजेको सूचना प्रवाह गर्ने सोच हाम्रो हो ।
० त्यसो भए अव हुने संघियतामा कृषि सूचना तथा सञ्चार केन्द्रको संरचना कस्तो हुन्छ ?
यो अहिले छलफलको विषयमा रहेको छ । संघियता अगाडि गईरहेको प्रसंगमा केन्द्रमा नीतिगत व्यबस्थाको लागि प्रदेशहरुमा सञ्चालन गरिने यस्ता कृषि सुचना केन्द्र सम्बन्धि कार्यक्रमहरु लाई नीतिगत पृष्टपोषण गर्ने ति निकायहरुले गरि आएका कामहरु अनुगमन गर्ने गरि नियमक निकायका रुपमा कृषि सुचना तथा सञ्चार केन्द्र मन्त्रालयको महाशाखा अथवा यस्तै छुट्टै निकायको रुपमा रहन उचित हुन्छ । तर यस्ले अहिले गरि आएका आफै प्रकाशनको काम पनि गर्ने, प्रशारणको काम पनि गर्ने, अन्य कार्यान्वयनका काम सबै जिम्मेवारीहरु लिने किसिमको त्यति ठूलो भूमिका लिनु हुंदैन । अहिले जुनकाम कृषि सुचना तथा सञ्चार केन्द्रले गरिरहेको छ यस्ता कामहरु प्रदेशमा नै रहने गरी राख्दा उपयुक्त हुन्छ । –धिरेन्द्र बस्नेत

प्रकाशित मिति: शनिबार, बैशाख २३, २०७४