शुक्रबार, बैशाख २८, २०८१

उचित मूल्य नपाउँदा किसान समस्यामा

धनगढी, वैशाख । व्यावसायिक आलुखेतीमा लागेका कैलालीका आलु उत्पादक किसान उचित मूल्य नपाउँदा समस्यामा परेका छन् । भारतीय बजारबाट भित्रिने आलुको मूल्यसँग प्रतिस्पर्धा गर्न नसकेपछि स्थानीय किसान समस्यामा परेका हुन् । आलु उत्पादन गर्दा लागेको लागतअनुसारको प्रतिफल पाउन नसकेको किसानको गुनासो छ ।
कैलाली गाउँपालिका–९ स्थित परिश्रम कृषि सहकारी संस्थाका व्यवस्थापक रामसमझ चौधरी आलुको उत्पादन वृद्धि भए पनि बिक्री गर्दा लगानीबमोजिमको मूल्य पाउन नसक्दा किसान मारमा परेको बताए । गत वर्ष २४ बिगाहा क्षेत्रफलमा आलुखेती गरेका यहाँका किसानले गएको हिउँद याममा २९ बिगाहा क्षेत्रफलमा आलुखेती गरेका थिए । कार्डिनल र पिरकौली जातको झन्डै तीन हजार १०० क्विन्टल आलु उत्पादन भएको चौधरीले बताए । उचित मूल्य नपाउँदा ठूलो परिमाणको आलु गोदाममा थन्किएको छ ।
“भारतबाट भित्रिने आलुसँग प्रतिस्पर्धा गर्न नसक्दा मारमा परेका छौँ,” स्थानीय रामसुुन्दर चौधरीले बताए । कैलालीको साबिक उदासीपुर, पहलमानपुर, चौमाला, जोशीपुरलगायतका गाविसका विभिन्न सहकारी संस्थामा आबद्ध किसानले पछिल्लो समय व्यावसायिक रुपमा आलु उत्पादन गर्दै आएका छन् । आलु भण्डारनका लागि शीत भण्डारन गृहको समस्या समेत किसानले झेल्दै आएका छन् ।
जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी गौरीशङ्कर गुप्ताले उत्पादन भएको आलु सम्बन्धित किसानले समयमै बिक्री गर्न नसकेका कारण अहिले आलु बिक्री गर्न र भण्डारनको समस्यमा देखिएको बताए ।

प्रकाशित मिति: बिहिबार, बैशाख २१, २०७४