शुक्रबार, बैशाख १४, २०८१

कृषि भन्दा अरु नै प्यारो, घरजग्गामा कर्जा थप्दै कृषि विकास वैक

काठमाडौं । सरकारको स्वामित्वमा रहेको कृषि विकास वैकले आफ्नो 46 बार्षिकोत्सव मनाईरहँदा कृषिमा लगानी बढाउने एजेण्डा ल्याएको भएपनि कृषि विकास बैकले वास्तविक रुपमा कृषिमा कत्तिको लगानी गरिरहेको छ भन्ने कुरा अव खोजिको विषय बनिरहेको छ । नेपालका अन्य वैकहरुभन्दा धेरै शाखा र धेरै नै पहुँच भएको कृषि विकास वैकले नाम अनुसारको काम गर्न नसकेको आरोप लाग्न थालेको मात्र होइन कृषि विकास बैकले उदेश्य विपरित कर्जा प्रवाह गर्न थालेको विषय खोजीको विषय बन्न थालेको छ ।
राजनीतिक हस्तक्षेपबाट टाढा रहन नसकेको कृषि विकास वैकले पछिल्लो समयमा प्रवाह गरिरहेको ऋणलाई मात्र ख्याल गर्ने हो भने पनि  कृषि विकास वैक किसान र कृषि उत्पादनका लागि होइन उसको ऋण घरजग्गा कारोबारमा नै केन्द्रित रहेको देखिन्छ । अन्य वाणिज्य वैकहरुलाई समेत नेपाल राष्ट्र बैंकले घरजग्गामा लगानी  नगर्न अनुरोध गरिरहेका बेला कृषि विकास वैंकका पदाधिकारीहरु भने बैकमा संकलन निक्षेपलाई घरजग्गा वा सवारी साधन खरिदका लागि नै ऋण प्रवाह गर्न तल्लीन देखिन्छन् । किसानहरुका लागि खुलेको कृषि विकास बैक कृषि उत्पादनका लागि ऋण प्रवाह गर्नु भन्दा अन्यत्र लगानी गर्नुमा नै फाइदा देखिरहेको छ । र त कृषि विकास वैंकमा कृषि प्रयोजनका लागि ऋण लिने जाने किसानहरुले ऋण पाउन मुश्किल परेका धेरै घटनाहरु सार्वजनिक हुन थालेको छ । सरकारले समेत कृषि ऋणमा सहुलियत दिने निर्णय गरेको मात्र नभई केही प्रतिशत कम व्याजदर समेत तोकेको छ । तर कृषि विकास बैकले किसानहरुको लागि कृषिमा ऋण प्रवाह नगरेकै कारण किसानहरुले चर्को व्याजदरमा सहकारी वा फाइनान्स मार्फत ऋण लिएर कृषि उत्पादनमा लगाईरहेको देखिन्छ ।
कृषि विकास वैकमा ऋण लिने जानेहरुले धेरै नै कष्ट सहनु पर्ने वाध्यतामात्र होइन वैंकका कर्मचारीहरुबाट अपहेलित हुनु पर्ने समेत ऋणीहरु बताउँछन् । ललितपुरको गोदावरीका कृषि फार्म सञ्चालन गरेर बसेका पदम कुँवरले कृषि विकास बैकको शाखादेखि केन्द्रसम्म आईपुग्दा पनि कृषि ऋण नपाएको दुखेसो कृषिसम्वाददातासँग गरेका छन् । आफूले कृषि विकास वैकबाट ऋण लिएर कृषि फार्मलाई अझ विस्तृत रुपमा कृषि उत्पादन बढाउनका लागि गरेको योजना प्रस्ताव सहित कृषि विकास वैंकका शाखादेखि केन्द्रसम्म पु¥याउँदा पनि कृषि ऋण नपाएको दुखेसो गर्दछन् । कृषि विकास वैंकले कृषिऋण नदिएपछि कृषि विकास मन्त्रालय, राष्ट्रिय योजना आयोगसम्म पुग्दा पनि आश्वासन बाहेक अरु केही नपाएको कुँवर बताउँछन् । कुँवर भन्छन् कृषि ऋण नपाएपछि ऋण उपलब्ध नहुनुको कारण माग्न कृषि विकास वैंकका प्रमुख कार्यकारी अधिकृत तेजबहादुर बुढाथोकीसम्म पुगेको भएपनि महिनौंको प्रतिक्षामा पनि कार्यकारी अधिकृतसँग भेट हुनबाट आफूलाई बञ्चित गराईएको उनको दुखेसो छ । प्रमुख कार्यकारी अधिकृतलाई २ बजेपछि मात्र भेट्न पाईन्छ भन्ने गरिएको भएपनि २ बजेपछि जाँदा पनि आफूले भेट गर्न नपाएपछि उनी अव कृषि फार्म नै बन्द गर्ने तयारीमा जुटेका छन् ।
कुँवर मात्र होइन मकवानपुरको पालुङ्गमा ३५ रोपनी जग्गा भाडामा लिएरु अर्गानिक तरकारी खेती शुरु गर्न थालेका सन्तोष शर्माले पनि कृषि विकास वैंकबाट कृषि ऋण नपाएको बताए । कृषि विकास बैंकमा घरजग्गा किन्नलाई भने तुरुन्त ऋण पाइने तर कृषि उत्पादनका लागि लगानी बढाउन कृषि विकास वैंकले ऋण पत्याउँदै भन्ने धेरैको आरोप कृषि विकास बैकलाई लाग्न थालेको छ । हुन पनि कृषि विकास वैंकले किसानहरुका लागि भन्दा पनि आफ्ना ऋण प्रवाहका प्याकेजहरु घरजग्गा खरिद वा विलासी सामान किनबेचका लागि मात्र पत्याउने गरेको वैकका सेवाग्राही रुष्ट हुँदै बताउँछन् । कृषि विकास बैकले कृषि ऋण भन्दा पनि अन्यत्र ऋण प्रवाह गरिरहेको विषयमा वैकका प्रमुख कार्यकारी अधिकतृसँग जानकारी लिन खोज्दा कर्मचारीहरुले सम्पर्कभन्दा बाहिर नै बनाउने गरेका छन् । यो वा त्यो नाममा वैकका कर्मचारीहरुले प्रमुख कार्यकारी अधिकतलाई सम्पर्क भन्दा बाहिर नै बनाउने गरेका हुन वा प्रमुख कार्यकारी अधिकृत तेजबहादुर बुढाथोकी नै बाहिर रहन चाहेका हुन् अव खोज्नु पर्ने बेला भएको छ । यद्यपी कृषि विकास वैंकले आफ्नो कर्जा प्रवाह घरजग्गामा बढी खर्न खोज्नुलाई सरकारको अवज्ञा गर्ने गरेको चर्चा चल्न थालेको छ । कृषि विकास बैकले कृषि कर्जा प्रवाह नगरी घरजग्गामा नै कर्जा प्रवाह गर्ने हो भने नाम अनुसारकोकाम गर्न नसक्ने वैंकका रुपमा स्थापित नहोला भन्न सकिँदैन ।

प्रकाशित मिति: शनिबार, माघ ११, २०७०