शनिबार, बैशाख १५, २०८१

कृषि अध्ययनमा विद्यार्थी आकर्षित

बर्दिवास, ११ पुस । हिजोसम्म कृषि वा पशुसँग सम्वन्धित विषय पढ्न चाहने आफ्ना स्कुले छोराछोरीलाई गाली गर्ने बर्दिवासका अभिभावक यतिखेर भने उनीहरुले घाँसको बीउ, ज्वरो जाँच्ने थर्मामिटर र सुई दिने सिरिन्जसहितका सामान लिएर घर फर्केपछि दुखि होइन खुशी हुन थालेका छन् ।
बर्दिवासको गौरीवास–२ स्थित जनता माध्यमिक विद्यालयमा पढ्न गएका छोराछोरीले घर फर्केर घाँसको दल राख्ने, घरमा पालिएका पशुको ज्वरो नाप्ने र आवश्यकतानुसार सुई दिने काम गर्न थालेपछि अभिभावक दङ्ग परेका हुन् ।
krishilogoहातहातमा पशुका लागि पोषिलो मानिएका घाँसको बीउ र उपचार सामग्री लिएर छोराछोरी घर फर्कंदा आफ्ना सहयोगी हात बढेको ठान्दै अभिभावकमा खुसी बढेको हो ।
विद्यालय जानुपूर्व र फर्केपछि साथी सङ्गतिसँग खेल्न हिँड्ने र घुमघाममा बिताउने छोराछोरी अब पढ्न, लेख्न र फुर्सदिलो समयमा पशुबारे जानकारी बढाउन थालेपछि खुसी लाग्ने गरेको अभिभावकको भनाइ छ ।
विद्यालयमा पशुविज्ञान विषयको पढाइ सुरु भएसँगै यही पुस १ गते प्रयोगशालासमेत सञ्चालनमा आएपछि विद्यार्थीको यो विषयमा रुचि निकै बढेको विद्यालयको पनि ठम्याइ छ । पछिल्ला दिनमा विद्यार्थीले पठनपाठनमा ध्यान बढाउनसँगै पशुविज्ञानका अतिरिक्त अन्य विषयमा पनि राम्रो रुचि देखाएका विद्यालयका प्रधानाध्यापक हरिप्रसाद बरालले कृषिलाई बताए ।

प्रकाशित मिति: बिहिबार, पुस ११, २०७०