शुक्रबार, बैशाख १४, २०८१

आधुनिक प्रविधि द्वारा च्याउ उत्पादन

महोत्तरी, फागुन  । महोत्तरी लक्ष्मिनियाँ–७ स्थित राष्ट्रिय उच्च मावि कान्तिबजारको कक्षा ९ मा अध्ययनरत प्राविधिकतर्फका विद्यार्थीले आधुनिक प्रविधिद्वारा च्याउखेती उत्पादन गर्दै आएका छन् । सो विद्यालयमा कृषि विज्ञानतर्फ अध्ययनरत् ४८ जना विद्यार्थीले स्थानीयस्तरमा पाइने सामग्रीको प्रयोगले विद्यालयको एउटा अँध्यारो कोठामा परीक्षणका क्रममा सामूहिक रुपमा च्याउ उत्पादन गर्दै आएका हुन् ।
च्याउ उत्पादनका लागि उनीहरुले गाउँघरमै पाइने धानको भुस, पोलिथिनको ब्याग एवम् च्याउको बीउको प्रयोग गर्ने गर्छ । धानको भुसलाई पानीमा उमालेर पोलिथिनको भाँडामा राखिन्छ, त्यसपछि त्यसमा च्याउको बीउ हालेर आधुनिक प्रविधिले च्याउ खेती गर्दै आएकोे कक्षा ९ मा अध्ययनरत छात्रा निलु मोक्तानले बताइन् ।
च्याउ उत्पादनका लागि जिल्ला कृषि विकास कार्यालयले बीउ उपलब्ध गराएको छात्र शिवकिरण महतोले बताए ।
त्यस्तै छात्रा संरचना कुमारी साहले ३० दिनमा पूर्णरुपमा तयार हुने सो च्याउ उत्पादनको लागि तीन हप्तासम्म अँध्यारो कोठामा राख्नुपर्ने बताए ।
कक्षा ९ मा अध्ययनरत ती विद्यार्थीलाई छ समूहमा विभाजन गरेर प्रयोगात्मक विधिद्वारा शिक्षण गराउँदै आएको शिक्षक देवनारायण सिंहले बताए । यस विद्यालयका आफ्नै जग्गामा विद्यार्थीले काउली, आलु, गहुँलगायतका बाली परीक्षणका रुपमा उत्पादनसमेत गर्दै आएका छन् ।
कक्षा १२ सम्म अध्यापन हुने सो विद्यालयमा यसै वर्षदेखि प्राविधिकतर्फका कृषि विज्ञान विषयका तीन वर्षे कक्षा सञ्चालन गर्दै आएको विद्यालयका प्रधानाध्यापक राजकिशोर सिंहले जानकारी दिए।
यसै वर्षदेखि सुरु भएको सो विषय अध्ययनका लागि जिल्लाका विभिन्न स्थानका साथै धनुषा र सर्लाहीका विद्यार्थी यहाँ आउने गरेको सो विद्यालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, फाल्गुन ७, २०७३