रैथाने जातको बीउ संरक्षण हुँदै

काठमाडौं, असोज । नेपाल कृषि अनुसन्धान परिषद्(नार्क) अन्तर्गतको नेपाल आनुवंशिक स्रोत केन्द्रले झण्डै सय वर्षसम्मका लागि स्थानीय जातका बीउ सुरक्षित गरेको छ । रैथाने जातको बीउ रोप्ने किसानको सङ्ख्या घट्दै गएका कारण केन्द्रले अध्ययन गर्न र आवश्यक पर्दा किसानलाई उपलब्ध गराउनका लागि समेत बीउ सुरक्षित गर्न थालेको छ ।
केन्द्रले अहिले देशभरबाट विभिन्न माध्यमबाट सङ्कलन गरिएका ११ हजारभन्दा बढी जातका स्थानीय बीउ संरक्षण गरिरहेको जनाएको छ । यसरी वीय संरक्षण गर्न थालिएपछि किसानहरुलाई अहिले लोप भइसकेका रैथाने बीउ फेरि लगाउने चाहना भएमा सहजै वीउ उपलब्ध हुने देखिन्छ । किसानहरुले अहिले खेतबारीमा रोपिरहेका बीउ अर्काे पुस्तासम्म जोगाउन नसकिएला भन्ने चिन्ता लिनु पर्ने अवस्था भने हट्ने भएको छ ।
हावापानी सुहाउँदो अर्काे ठाउँको रैथाने बीउ खोज्दा नभेटेर हैरान भएका किसानहरुका लागि यो खुशी को खवर पनि हो । नेपाल आनुवंशिक श्रोत केन्द्रले रैथाने जातका वीउ संरक्षण गर्न थालेपछि एक सय वर्षसम्मका लागि बीउ लगाउन पाईने भएको छ ।
कृषि विविधता संरक्षणका लागि रैथाने बीउ सङ्कलन गरेर संरक्षण गरिरहेको केन्द्रमा कार्यरत वैज्ञानिक कृष्णहरि घिमिरेले बताए । ‘डिप फ्रिज’मा माइनस २० डिग्री तापक्रममा राखिएका कतिपय बीउ ३०० वर्षसम्म सुरक्षित हुने उनले जानकारी दिएका छन् । घिमिरेका अनुसार, “कोदोलगायतका बाली ३०० वर्षसम्म राख्न सकिन्छ । केन्द्रले संरक्षण गरेका बीउ सबैका लागि र सधैँका लागि हुन्छ ।”
केन्द्रमा भएका बालीलाई मध्यम र दीर्घकालीन गरेर दुई किसिमबाट संरक्षण गरिएको समेत उनले बताए । “कुनै बालीको आयु छोटो हुन्छ भने कतिको लामो हुन्छ,” घिमिरेले भने । दीर्घकालीन भण्डारणमा राखिएका बाली ५० देखि १०० वर्षसम्म सुरक्षित हुन्छन् भने अल्पकालीन भण्डारणमा राखिएका बाली १० देखि १५ वर्षसम्म सुरक्षित हुन्छन् । अल्पकालीन भण्डारण गृहमा बीउलाई चारदेखि १० डिग्री तापक्रममा राखिन्छ । कतिपय बालीलाई परस्थान कतिपयलाई यथास्थान संरक्षण गरिन्छ । बाली जुन ठाउँको हो त्यही ठाउँमा गरिने संरक्षण यथास्थान संरक्षण र नयाँ ठाउँमा लगेर गरिने संरक्षण परस्थान संरक्षण हो ।
एक सय वर्षसम्म डिप फ्रिजमा राखेर सुरक्षित गर्न सकिने बालीको पनि समय समयमा उमार शक्तिको परीक्षण हुने गरेको छ । हरेक पाँच वर्षमा यहाँको खेतबारीमा नै त्यो बाली रोपेर उमार शक्तिको परीक्षण हुने गरेको हो । केन्द्रले प्रजननकर्ता, अध्ययन गर्नेलाई थोरै (१० देखि २० ग्रामसम्म) परिमाणमा बीउ दिने गरेको छ । किसानलाई रोप्न पुग्ने जति बीउभन्दा पनि एक÷दुई वर्षमा त्यसलाई बढाएर मात्रै खेतबारीमा लगाउन मिल्ने गरी परिमाण केन्द्रले लिँदै आएको छ । “हामी आफैँले पनि थोरै परिमाणमा मात्रै भण्डारण गरेका हुन्छौँ,” घिमिरेले भने । किसान वा अध्ययनकर्तालाई दिएर घटेको बीउलाई केन्द्रले पनि खेतबारीमा रोपेर आधादेखि एक किलोसम्म परिमाण बढाउँछ । केन्द्रले निःशुल्करूपमा बीउ उपलब्ध गराउँदै आएको छ ।
आयु छोटो हुने बालीमा प्याज, गाँजरलगायतका बाली छन् । आयु लामो हुनेमा मकै, धान, गहुँ, कोदोलगायत छन् । धेरैजसो फलफूल, तेलहन बाली, दालबाली, पिँडालु, तरुल, आलुलगायतका बाली संरक्षणका लागि वर्षेनी लगाइन्छ ।
केन्द्रका कर्मचारी आफैँले विभिन्न जिल्लामा पुगेर बीउ सङ्कलन गरेर ल्याउने गरेका छन् । विभिन्न जिल्लामा बीउ बैंक सञ्चालनमा छ । किसानले बैंकमा जसरी नै बीउ बैंकमा आफूसँग बढी भएको बीउ राख्ने र नभएको बीउ लैजाने गर्छन् । त्यहाँ जम्मा भएका बीउ केन्द्रले सङ्कलन गर्छ । कतिपय किसान आफैँ जागरुक छन् । “मैले लगाएको बीउ लोप हन लाग्यो । छोरानातिका पालासम्म सुरक्षित गर्नुप¥यो भन्दै बीउ बोकेर आउँछन्,” घिमिरेले भने, “कति किसान त नयाँ बीउ पाउनासाथ यहाँ ल्याउने गर्छन् ।” धेरै किसान उन्नत र हाइब्रिड बीउमा आकर्षित भए पनि कतिपय किसान रैथाने जात जोगाउनुपर्छ भन्नेमा सचेत छन् ।