धान पाक्न नपाउँदै बोट कुहिन थाल्यो

कञ्चनपुर, असोज । धानवालीमा फड्के (ब्राउन होपर) कीराको प्रकोप बढ्न थालेपछि किसानहरु चिन्ता व्यक्त गर्न थालेका छन् । पछिल्लो समयमा कञ्चनपुरमा किसानले लगाएको धानबालीमा फड्के किरा बढ्न थालेपछि धानवालीमा ब्यापक नोक्सानी पु¥याएको छ । पाक्न नपाउँदै धानमा फड्के कीराले आक्रमण गरेपछि धानवालीमा निकै नै नोक्सानी भएको किसानहरुको भनाई छ ।
शुक्लाफाँटा– ४ का किसान धर्मानन्द भट्टले एक बिगाहा खेतमा लगाएको धानबाली पूरै फड्के कीराको प्रकोपका कारण नोक्सान भएको बताए । कीराले धानको बोटको रस चुसेर खाने भएकाले धान पाक्न नपाउँदै ढल्ने र दाना र पराल कामै नलाग्ने हुने उनको भनाई थियो ।
विषादी हालेर कीरा नियन्त्रण गर्न खोजे पनि नियन्त्रण नभै झनै पूरै खेतमा फैलिएको छ । धान पाक्न नपाउँदै धानका बोट कुहिएर झर्न थालेको उनले जानकारी दिए ।
एक साताअघि सानो ठाउँमा धानका बोट कुहिएर खस्न थालेका थिए । अब पूरै खेतमा कीराको समस्या देखिएको छ । मेहनत गरेर लगाएको पूरै धानबाली कीराले सखाप पारेपछि उनी मात्र होइन छिमेकी किसान समेत चिन्ता व्यक्त गर्न थालेका छन् ।
वर्षभरि खानका लागि जोहो गर्ने र वाँकी रहेको धान विक्री गर्नु पर्नेमा अहिले धानको बोट मर्न थालेपछि यो वर्ष परिवारलाई नै खान समस्या पर्ने भएको छ भन्दै उनले दुखेसो गरे । “पाक्न नपाउँदै धानका बोट कीराका कारण कुहिएपछि खानकै लागि धान किन्नुपर्ने अवस्था आएको छ ।”
सोही वडाका किसान अमर भण्डारीको १० कट्टा खेतमा लगाएको धानबाली कीराको प्रकोपका कारण सखाप भएको छ । प्रकोपकै रूपमा कीराले आक्रमण गरेपछि पूरै धानबाली कामै नलाग्ने भएको उनले बताए ।
शुक्लाफाँटा नगरपालिकाको कृषि शाखाका प्रमुख वीरबहादुर कुवँरले शुक्लाफाँटा नगरपालिका क्षेत्रमा मात्रै झण्डै तीन दर्जन बढी किसानको १० बिघा बढी जग्गामा फड्के कीराले धानबालीमा नोक्सानी गरेको जानकारी दिएका छन् । उनका अनुसार खेतमा रहेको पानीको निकास गरी इमिडाक्लोरापिड नामक विषादी एक एमएल चार लिटर पानीमा घोलेर खेतमा छर्के कीरा नियन्त्रण गर्न सकिने उनको भनाइ छ । उनका अनुसार २५ प्रतिशत धानबाली नोक्सान भईसकेको छ ।
बाली संरक्षण प्रयोगशाला सुन्दरपुरका नायब प्राविधि सहायक राममिलन चौधरीकाअनुसार कञ्चनपुरका पुर्नवास, बेलडाँडी, लालझाडी, शुक्लाफाँटा, बेदकोट र भीमदत्तनगरमा गरी दुईसय बिघाहा खेतमा लगाइएको एक हजार क्वीन्टल धानबाली फड्के कीराको प्रकोपले खेरगएको छ । जसबाट किसानले रु १५ लाखदेखि २० लाख सम्मको नोक्सान व्यहोर्नु परेका छ ।