शुक्रबार, बैशाख १४, २०८१

अलैँची खेतीमा किसान आकर्षित

बागलुङ, १० पुस । बाँझो पल्टिएको जग्गामा अलैँची खेती फस्टाएपछि जैमिनी नगरपालिका–२ र ३ का किसान खुशी छन् । परीक्षणमै राम्रो आम्दानी पाएका किसानले अलैँचीको व्यावसायिक खेती शुरु गरेका हुन् । राम्रो बजार मूल्यका कारण पनि अलैँची खेतीमा किसानको आकर्षण बढेको हो ।
सोही ठाउँको गाँजा सामुदायिक कृषि सहकारी संस्थामार्फत एक सय रोपनी जमिनमा पनि अलैँची खेती भइरहेको छ । अन्य क्षेत्रमा पनि खेती विस्तार गर्ने योजना रहेको उल्लेख गर्दैै सहकारीका अध्यक्ष होमनाथ सापकोटाले भने, “परीक्षण सफल भएपछि हामी उत्साहित छौँ । दमेकका सरकारी, सामुदायिक र निजी वनमा समेत अलैँची खेती शुरु गरिएको छ ।”स्थानीयवासी आनन्द अम्माई, झापाका पारस काफ्ले र अन्य किसानले पनि अलैँचीको नर्सरी स्थापना गरेका छन् । किसानले अलैँचीको फलदेखि बिरुवासमेत बिक्री गर्ने गरेका छन् । गत वर्ष जिल्लाभरका किसानले रु १० लाखको बिरुवा बेचेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
वार्षिक रु ५० लाख भित्र्याउने गरी किसानले काम गरिरहेको कार्यालयका कृषि प्रसार अधिकृत विप्लवप्रसाद अधिकारीले बताए । उनका अनुसार जिल्लाभर ३० हेक्टर बढी क्षेत्रफलमा अलैँची खेती गरिएको छ । दमेक, दुदिलाभाटी, खरबाङ, बुर्तिबाङ, अर्गल, हिल, राङ्खानी, बरेङलगायतका क्षेत्र अलैँची खेतीका लागि उपयुक्त मानिएको छ ।
अलैँचीतर्फ किसानको आकर्षण बढेकाले खेती विस्तार हुँदै गएको कार्यालयका कृषि प्रसार अधिकृत विप्लवप्रसाद अधिकारीले बताए । “बागलुङमा अलैँचीको राम्रो सम्भावना छ”, उनले भने, “खेती गरिरहेका किसानले राम्रो आम्दानी गरिहेका छन् ।” सिमसार, उत्तिसको रुख भएका खोल्सा र पाखोबारी अलैँची खेतीका लागि उपयुक्त मानिन्छ । अलैँची बिक्रीका लागि भने पूर्वको झापालगायतका ठाउँमा पु¥याउनुपर्ने अवस्था रहेको अधिकृत अधिकारीको भनाइ छ । ठूलो मात्रामा उत्पादन भएको अलैँची भने व्यापारीले गाउँमै आएर खरिद गर्ने गरेका छन् । नेपालमा उत्पादन हुने अलैँची विदेशी मुलुकमा समेत निर्यात हुने गरेको छ ।

प्रकाशित मिति: सोमवार, पुस १०, २०७४