मङ्लबार, बैशाख १८, २०८१

महिनौँदेखि कृषि विश्वविद्यालय ठप्प हुँदा पठनपाठन प्रभावित

रत्ननगर (चितवन), २७ भदौ । चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय अस्तव्यस्त भएको छ । दुई महिनादेखि यहाँका प्राध्यापक तथा कर्मचारीको आन्दोलनका कारण विश्वविद्यालयको पठनपाठनसमेत प्रभावित भएको प्राध्यापकहरूले बताएका छन् । नियमसङ्गत कर्मचारी तथा प्राध्यापक नियुक्ति नभएको भन्दै प्राध्यापक र कर्मचारीले तालाबन्दी गरेर अनिश्चितकालीन धर्ना सुरु गरेपछि विश्वविद्यालय ठप्प भएको हो । विश्वविद्यालयका रजिस्टार सूर्यकान्त घिमिरेले एकथरी प्राध्यापकको आन्दोलनका कारण पठनपाठन ठप्प भएको बताउनुभयो । उहाँले अहिले छलफल र वार्ता सुरु भएकाले निकास निस्कने आशा व्यक्त गर्नुभयो ।
प्राध्यापक र कर्मचारीले गत असार १५ देखि विश्वविद्यालयको डिन कार्यालयमा तालाबन्दी गरी आन्दोलन थालेका थिए । जसका कारण प्रशासनिक कार्य बन्द भएको थियो । विश्वविद्यालयको विधानविपरीत कर्मचारी र प्राध्यापक नियुक्ति गरेको आरोप लगाउँदै त्यसको विरोधमा ४० दिनदेखि नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन र कर्मचारी थप आन्दोलनस्वरुप धर्नामा समेत उत्रिएको सङ्गठनका सदस्य अनन्त सुवेदीले बताउनुभयो । सोही विषयलाई लिएर उनीहरूले गएको साउन ११ गतेदेखि नै आन्दोलन सुरु गरेका थिए । पुनः साउन १८ गते चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्दै प्राध्यापक कर्मचारी धर्नामा बसेका कारण विश्वविद्यालय थप प्रभावित भएको हो । आज पनि धर्ना कार्यक्रम जारी रहेको सुवेदीले बताउनुभयो । अवैधानिक नियुक्तिको प्रक्रिया खारेज गर्नुपर्ने, त्रिविबाट विश्वविद्यालय समायोजन गर्नुपर्ने, शिक्षक विश्वविद्यालय व्यवस्थापन अनुदान आयोगको सिफारिसबाट दरबन्दी सृजना गरी पदपूर्ति गर्नुपर्नेलगायतका माग आन्दोलनरत प्राध्यापक, कर्मचारी र विद्यार्थीले राखेका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०७१