मङ्लबार, बैशाख १८, २०८१

ढेड महिना वितिसक्दा पनि पशु सेवा विभागले पाएन महानिर्देशक

काठमाडौं । पशु सेवा विभागको महानिर्देशक पद करीव ढेड महिनादेखि रिक्त रहेको छ । उमेरहदका कारण पशु सेवा विभागका महानिर्देशक डा वंशी शर्मा स्वत अवकाश भएदेखि सो पद रिक्त रहेको छ । पशु सेवा विभाग कार्यालय प्रमुख विहिन अवस्थामा नै चलिरहेको छ ।

पछिल्लो समयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संघीय संरचना पश्चात मातहतका विभागलाई त्यत्ति महत्व दिएको देखिँदैन । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्याल कृषि क्षेत्रको विकासका लागि भन्दा पनि संसद विघटन पछि प्रधानमन्त्रीको पक्षमा वकालत गर्ने र आप्mनो पद कसरी सुरक्षित गर्ने भन्नेमा नै व्यस्त देखिएकी छिन् ।

अहिले नेपालमा पनि वर्डफ्लु देखिएको छ । त्यसका लागि पनि पशु सेवा विभागले महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने अवस्था देखिएको छ । तर कृषि तथा पशुपन्छी विकास मन्त्रालयल डेढ महिनादेखि महानिर्देशक नियुक्ति गर्न सकेको छैन ।

हुन त पछिल्लो समय नियुक्ति मात्र होइन कुनै पनि काममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आफ्नो कार्य क्षमता देखाउन सकेको छैन । रासायनिक मलको अभाव होस् या कृषिमा वैदेशिक लगानीका विषयमा ठोस कार्य गर्न सकेन ।

कृषि मन्त्री पद्मा अर्याल साना मसिना कुरामा अल्झेर बसेकीछिन् । पशु सेवा विभागको महानिर्देशक नियुक्तिमा ढिलाई भएको विषयमा मन्त्रालयका अधिकारीहरु मौन नै बसेका छन् । यद्यपी पशु सेवामा कार्यरत सहसचिवहरु मध्येबाट सिनियर कर्मचारीलाई महानिर्देशक बनाउन त्यत्ति ठूलो पापड मोल्नु पर्ने अवस्था पनि छैन ।

विगतमा जस्तो पशु सेवा विभागको ठूलो हैसियत समेत नभएका कारण कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले पशु सेवा विभागको महानिर्देशक नियुक्ति गर्न कति ढिला गर्छिन त्यसबाट नै कृषि तथा पशु सेवा क्षेत्रको विकासका बारेमा अनुमान गर्न सकिन्छ ।

प्रकाशित मिति: शनिबार, माघ १७, २०७७