आइतवार, बैशाख १६, २०८१

काभ्रेको साँगाबाट प्राङ्गारिक कृषि अभियान शुरु

काठमाडौ, भाद्र । अर्गानिक उत्पादनको नारा दिने कृषि विकास मन्त्रालयले अर्गानिक उत्पादन गर्नका लागि खासै पहल गरेको देखिँदैन । सरकारी योजना एकातिर र व्यवहार अर्कोतिर देखिन्छ । कृषि विकास मन्त्रालयले जसरी अर्गानिक खेती प्रणालीका बारेमा चर्का बहश चलाएको देखिन्छ त्यही रुपमा काम भने गरेको पाइँदैन । तर निजी क्षेत्रबाट भने अर्गानिक खेतीका लागि निकै नै प्रयास भएका छन्,तर त्यसको प्रचार प्रसार भने हुन सकेको छैन ।
सरकारले प्राङ्गारिक खेतीका लागि पहल नगरिरहेको अवस्थामा वातावरण तथा कृषि अभियान नेपालको आयोजनामा प्राङ्गारिक जीवनशैली प्रचार प्रसार अभियान काभ्रेबाट शुरु भएको छ ।
कृषि क्षेत्र एवं प्राङ्गारिक कृषिमा काम गर्ने विभिन्न व्यक्तित्वहरु तथा प्राङ्गारिक कृषिका अभियन्ताहरुले गमलामा काउलीको विरुवा रोपेर सो अभियान शुरु गरेका हुन्।
तरकारी बालीमा कुनै बेला अत्यधिक विषादी प्रयोग हुने जिल्लाका रुपमा चर्चित रहेको काभ्रेबाट नै यो अभियान शुरु गरिएको छ । लामो सयमदेखि प्राङ्गारिक कृषि उत्पादनका लागि विभिन्न जिल्लामा गएर किसानहरुलाई प्राङ्गारिक खेती सम्वन्धि जानकारी दिंदै आएकी प्राङ्गारिक कृषि अभियन्ताका रुपमा परिचित कल्पना तिम्सिनाको अगुवाईमा बुधबारदेखि यो अभियान शुरु गरिएको छ ।
बालीनालीमा विषादी प्रयोग गर्दा तरकारी उपभोग गर्ने व्यक्ति भन्दा पहिले किसान त्यसको असरमा पर्ने र रोग सवैभन्दा पहिले किसानलाई नै लाग्ने अभियन्ताहरुको भनाई रहेको छ । ‘विषादी प्रयोग नगरौं भन्ने तर त्यसको विकल्प राज्यले दिन नसकिरहेको अवस्थामा यो अभियान मार्फत त्यसको विकल्प सहित हामी किसानसम्म पुग्छौं ।’, प्राङ्गारिक खेतीकी अभियन्ता एवं वातावरण तथा कृषि अभियान नेपालकी अध्यक्ष कल्पना तिम्सिनाको भनाई थियो ।

प्रकाशित मिति: बुधबार, भदौ २०, २०७५