आइतवार, बैशाख ३०, २०८१

लम्पी स्किन महामारी ः सरकार भएको अनुभूति गर्न सकेनन् किसानले

काठमाडौं । अहिले मुलुकभरका किसानहरुको गोठमा रहेका गाईभैंसी लम्पी स्किनको चपेटामा छन् । लाखौं पशुबस्तुहरु लम्पी स्किनको महामारीका कारण उपचार नपाएर मरिरहेका छन् । सरकारले पशु स्वास्थ्यलाई ख्याल नगर्दा लम्प स्किनले अहिले मुलुकभरी महामारीको रुप लिईसकेको छ । तर सरकारले पशु बस्तुको स्वास्थ्यमा कुनै चासो नै दिएको देखिँदैन । जसले गर्दा सरकार भएको किसानहरुले अनुभूति गर्न सकेका छैनन् ।

नेपालको आर्थिक मेरुदण्ड एवं स्वरोजगारका लागि महत्वपूर्ण क्षेत्र कृषि, पशुपालन नै हो । जसले लाखौं परिवारहरु संरक्षित भएका तथा आफ्नो जीविकोपार्जनकोमुख्य पेशा नै यसैलाई बनाईरहेका छन् ।
तर, तिनै किसानहरुलाई परेको पीडामा मल्हल लगाउने काम राज्यले गर्न सकेको छैन भन्ने उदाहारण अहिले लम्पी स्किनको महामाारीको रुप हो । विगतमा लम्पी स्किनको संक्रमण देखिने वित्तिकै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चासो दिएको भए, सायद अहिले यो अवस्था आउने थिएनन् होला ।

जनताले जसरी सरकार भएको महसुस गर्न सकेको छैनन् । लाखौ किसानले आफ्नो अमूल्य मत दिएर पठाएको भएपनि तिनै जनप्रतिनिधिहरुले किसानका समस्या माथि सम्वोधन गर्न नसक्नु नै सवैभन्दा पीडादायक छ ।
होला लम्पी स्किन कृषि तथा पशुपन्छी विकास मन्त्रालयको चासोमा पर्ला, त्यही विषय अर्थ मन्त्रालयको चासो परिरहेको छैन । लम्पी स्किन जस्तो संवदेनशील विषयमा पनि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेट रकमान्तर वा थप बजेटका लागि अर्थ मन्त्रालय गोही आँशु बगाउने काम गरिरहेको चर्चा सुनिन्छ ।

त्यसो हो भने पशुबस्तुमा देखापर्ने यस्ता महामारीबाट लाखौ पशुबस्तु मरिरहँदा अर्थ मन्त्रालयका कर्मचारी वा अर्थमन्त्रीलाई पीडा नहुने हो ? किसानका नाममा विदेशी दातृनिकायसँग अवौं रुपैयाँको सहयोगमा हस्ताक्षर गर्न लालायित अर्थ मन्त्रालयका पदाधिकारीहरु लम्पी स्किन रोग नियन्त्रण गर्न र नेपाली किसानहरुको सुरक्षका लागि सरकारी ढुकुटीबाट रकम निकासा गर्न किन हात कमाउन गर्दछन् ।

हुन त कृषि मन्त्रीलाई समेत नटेने अर्थ मन्त्रालयका कर्मचारी छन् । कृषि क्षेत्रलाई सौतेनी व्यवहार गर्ने परिपाटी हिजो पनि थियो र आज पनि छ जसका कारण कृषि क्षेत्र ओझेलमा परेको मात्र होइन किसानहरुका लागि सरकार छ र भन्ने गहन प्रश्न मनमा गढिरहेको छ । सायद कृषिका कर्मचारीले महसुस गरेका होलान् ।

प्रकाशित मिति: सोमवार, असार १८, २०८०