मङ्लबार, बैशाख १८, २०८१

लमजुङमा सुन्तला उत्पादन घट्यो

बेसीशहर,  १४ मङ्सिर  ।  लमजुङमा यस वर्ष सुन्तला उत्पादनमा ह्रास आएको छ ।  सामान्य वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले सुन्तला उत्पादनमा ह्रास आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।  गतवर्ष जिल्लामा पाँच हजार २७४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । Orange suntala
जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीले रोग कीराका कारण सुन्तला बगैँचा मासिदै गएकाले उत्पादनमा कमी आएको बताए ।  सुन्तला उत्पादनमा देशभर प्रसिद्धि कमाएको लमजुङमा टुप्पो मर्ने रोगका कारण सुन्तलाको बोट विस्तारै मर्दै गएको किसानहरूले बताएका छन् ।  कृषि कार्यालयका प्राविधिकले सुन्तलाका बोटमा सिट्रस ग्रिनिङ्ग भाइरस रोग देखापरेको बताएका छन् ।
जिल्लाको एक हजार दुई सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकोमा करिब ६ सय हेक्टर क्षेत्रफलमा मात्र सुन्तला उत्पादन हुँदै आएको छ ।  लमजुङको कुन्छा, दुराडाँडा, भोेर्लेटार, ईशानेश्वर, राइनास मोहोरियाकोट, तार्कुघाट, सिम्पानी, भुलभुले, गाउँशहर, भोँजेलगायतका स्थानमा सुन्तला खेती हुँदै आएको छ ।
यीमध्ये चिती र उदिपुरलाई कृषि विकास कार्यालयले नमुना पकेट क्षेत्र घोषणासमेत गरेको छ ।  नमुना क्षेत्र भनेर घोषणा गरिए पनि बाँझाखेत, सिम्पानी, दुराडाँडालगायतका क्षेत्रमा ग्रिनिङ भाइरसका कारण सुन्तलाको पूरै बोट मरेपछि उत्पादन नै शून्य हुने अवस्थामा पुगेको कृषि विकास कार्यालयले जनाएको छ ।
रोग कीराका कारण सुन्तलाका बोट मर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् ।  चिती–२ स्याउतका सुन्तला किसान रमेशराज पन्तले रोगका कारण सुन्तला उत्पादन घट्दै गएको बताउनुभयो ।  बेसीसहर नगरपालिकाको उदिपुर ठूलो धिमिरेका किसान तिलकराज पन्तले पनि रोग कीराका कारण सुन्तलाका बोट मर्दै गइरहेको बताउनुभयो ।
कृषि विकास कार्यालयका अनुसार किसानहरूले पुरानो रूख हटाएर नयाँ बिरुवा रोप्न थालेका छन् ।  यस्तै पुरानो बगैंचा जोगाउनका लागि कार्यालयले बगैंचा स्याहार तथा व्यवस्थापनका कार्यक्रम गरेको कृषि योजना अधिकृत लालवीर चौधरीले बताए ।  कृषि कार्यालयमा सुन्तला बगैँचा सुदृढीकरण कार्यक्रमका लागि गतवर्ष १८ लाख ७३ हजार बजेट खर्च गरिएको थियो ।
लमजुङको सुन्तला काठमाडौँ, पोखरा, नारायणगढलगायतका बजारमा राम्रो खपत हुने गरेको छ ।  यसबाहेक लमजुङको सुन्तलाको बंगालादेशसम्म राम्रो माग हुने गरेको किसानहरू बताउँछन् ।  -गोप

प्रकाशित मिति: बिहिबार, मंसिर १४, २०७४