आइतवार, बैशाख १६, २०८१

कृषि क्रान्तिका नेता एकदेवको स्मृतिमा भवन

तनहुँ, २८ असार । कृषि क्रान्तिका योद्धा एकदेव आलेको स्मृतिमा ब्यास नगरपालिका–३ नेकपा (एमाले)को पार्टी कार्यालय नजिकै स्मृति भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । Ekdev-aale
जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको सो जग्गा भोगचलन गर्न पाउने गरी जिल्ला परिषद्बाट पारित भएपछि करिब सात आना क्षेत्रफलमा सो भवनको निर्माण कार्य अघि बढाइएको हो । उक्त भवन यही असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य रहेको सो प्रतिष्ठानले जनाएको छ ।
जिल्लाको मानुङस्थित अर्चलथोकमा विसं १९८० मा जन्मिएका एकदेव आले कृषि क्रान्तिका नेता रहेका थिए । उनकै स्मृतिमा सो भवन निर्माण गर्न लागिएको हो । एकदेव आलेको ४६ वर्षको उमेरमा विसं ०२६ मा क्यान्सरका कारण भारतको दबुङमा उपचारका क्रममा मृत्यू भएको थियो ।
उक्त भवन निर्माणको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट तत्कालीन मन्त्री आनन्दप्रसाद पोख्रेलले उक्त रकम विनियोजन गरेका थिए ।
मन्त्रालयबाट भवन निर्माणका लागि भ्याट र कन्सल्टेन्सीसहित रु ४० लाख र जनश्रमदान करिब रु तीन लाख गरी कुल रु ४३ लाखको लागतमा निर्माण कार्य अघि बढाइएको एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठानका अध्यक्ष श्रीराम कार्कीले बताए ।
अङ्ग्रेजी सेनामा भर्ती भएका आलेले जागिर छाडेर सुवासचन्द बोसले नेतृत्व गरेको आजाद हिन्द फौजको आन्दोलनमा समेत आलेले सक्रिय रुपमा भाग लिएका थिए ।
त्यसैगरी, विपीले राणा शासन ध्वस्त गर्न गठित मुक्ति सेना रक्षा दलमा बसेर समेत काम गरेका थिए । विसं २००७ मा काँग्रेसले दिल्ली सम्झौता गरेपछि आलेको चित्त नबुझेपछि त्यसैबेलादेखि बामपन्थी विचारधारामा प्रवेश गरेका थिए ।
उनले विसं २०१५ मा भएको आम निर्वाचनमा क्षेत्र नं १०३ बाट चुनावमा भाग लिएका थिए । उक्त चुनावमा श्रीभद्र शर्माले जित हासिल गरे भने आले पराजित बन्नुपरेको थियो ।
बहुआयामिक अध्ययन तथा चिन्तन भवनका रुपमा अघि बढाउन लागिएको अध्यक्ष कार्कीले जानकारी दिए । उनले आवश्यकताअनुरुप अन्य जिल्लामा पनि विस्तार गर्ने योजना रहेको बताए ।
भवनमा जनजीविका, स्थानीय, राष्ट्रिय कृषि आन्दोलन, गणतन्त्र तथा शैक्षिक क्षेत्रका जल्दाबल्दा लगायतका विषयमा अध्ययान तथा चिन्तन कार्य गरिने बताइएको छ ।

प्रकाशित मिति: बुधबार, असार २८, २०७४