आइतवार, जेष्ठ ६, २०८१

मकवानपुरका चेपाङ समुदायको आम्दानीको मुख्यस्रोत पाडो

मकवनापुर, २३ मङ्सिर । पशुपालन व्यवसाय ग्रामिण भेगमा बसोबास गर्ने अधिकांश नेपालीहरुको जिविकोपार्जनका लागि महत्वपूर्ण पेशाका रुपमा लिने गन्छि । त्यही पेशाबाट नै लाखौ नेपाली जनताले हातमुख जोर्न पाएका छन् । अहिलेमकवानपुरको विकट गाविस काँकडा—४ देवीटारका चेपाङ समुदायको आम्दानीको मुख्यस्रोत पाडो रहेको छ । भैँसीको पाडोबाट करिब डेढ–दुई वर्षमा लगानीको १२ गुना बढी आम्दानी भएकाले यस समुदायको आम्दानीको मुख्यस्रोत पाडो बन्न गएको हो । गाईवस्तु पालन नगर्ने यस ठाउँमा खेतबारी जोत्नका लागि गोरुमात्र पाल्ने चेपाङ समुदायले केही वर्षदेखि आम्दानीको वैकल्पिक स्रोतका रूपमा पाल्न थालेको पाडोबाट राम्रो आम्दानी भएपछि उनीहरू यसप्रति आकर्षित भएका हुन् । खेतीको अन्नले केही महिना मात्र खान पुग्ने भएकाले बाँकी महिनाको केही समय गिठ्ठा भ्याकुर खोज्ने, माछा मार्ने र ज्याला मजदुरी गर्ने यहाँका चेपाङले अहिले पाडो पालन गरेर छोराछोरी पढाउन थालेका छन् ।
जनएकता सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध यस ठाउँमा जम्मा २५ घरधुरी रहेको चेपाङ समुदायको हरेक घरमा अहिले दुईदेखि तीनवटासम्म पाडा रहेका छन् । तीनवटा बच्चाकी आमा २२ वर्षीया जुनिमायाले पनि बच्चाकै लागि पाडो पालेको बताइन् । “मौरीपालनले थोरै खर्च चल्छ, तर पाडोले बच्चा पढाउनुपर्छ”, उनले भनिन् । आफूले नपढेको भएपनि बच्चा पढाउन उनीहरूले पाडोपालन गरेका छन् । तर पनि यो आम्दानीले उनीहरूलाई समृद्ध भने बनाउन सकेको छैन ।
खाद्यान्नका लागि अझै पनि मनहरि बजारबाट कनिका किनेर लैजाने उनीहरूको भनाइ छ । विकट गाविसको अति विपन्नमा पर्ने देवीटारका चेपाङलाई बिहान–बेलुका छाक टार्नका लागि पनि समस्या हुने भएकाले नै यस ठाउँमा शिक्षा र स्वास्थ्यको स्तरको अवस्था पनि न्यून रहेको छ । हाल मौरी र पाडोले केही आवश्यकता पूरा गरेपनि समृद्धिका लागि ठोस योजनाको आवश्यकता रहेको छ ।

प्रकाशित मिति: बिहिबार, मंसिर २३, २०७३