शनिबार, जेष्ठ ५, २०८१

भूक्षयले उत्पादनमा ह्रास

ललितपुर, ८ मङ्सिर । भूक्षयका कारण मुलुकभरको कुल उत्पादनमा करिब २० देखि ५० प्रतिशतले ह्रास आइरहेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)अन्तर्गतको माटो विज्ञान महाशाखाले देशका विभिन्न स्थानमा गरको अध्ययनमा भूक्षयका कारण उत्पादनमा ठूलो मात्रामा ह्रास आइरहेको पाइएको हो ।

पहाडी जिल्लामा नयाँ सडक बनिरहँदा भूक्षय बढेको महाशाखाका प्रमुख कमल साहले बताए । उनले भने – “बर्सेनि धेरै ठाउँमा नयाँ सडक बनिरहेका छन् र त्यही सडकका कारण उत्पादनमा असर परेको छ ।” स्काभेटर प्रयोग गरी खनेका सडकमा पहिरो जाने गरेको उनको भनाइ छ ।
वर्षा र मानवीय त्रुटिका कारण भूक्षयको समस्या नेपालमा बढ्दै गएको उनले बताए । भिरालो खेतबारी भएका स्थानमा भूक्षयको समस्या बढी हुन्छ । भूक्षयका कारण उत्पादन कम मात्रै होइन माटोलाई पहिले जस्तो उत्पादनशील हुन वर्षाैं लाग्छ । पहाडी क्षेत्रमा भूक्षयकै कारण खेतबारी उत्पादन नहुने जमिनमा परिणत हुँदै गएको बताए । राम्रो उत्पादन दिने माटोको उत्पादन शक्तिमा ह्रास आइरहेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७३