शनिबार, बैशाख २२, २०८१

संस्थानका उत्पादन स्वस्थ र गुणस्तरीय छन्

Ganga timilsena

गंगाप्रसाद तिमल्सेना
महाप्रवन्धक
दुग्ध विकास संस्थान

० दुग्ध विकास संस्थानले उत्पादन गरेको धूलो दूध खान योग्य छ भनेर खाद्य प्रविधिले तथा गुण नियन्त्रण विभागले क्लिन चिट दियो होइन ?
वास्तवमा भन्ने हो भने त्यो क्लिन चिट होइन , धूलो दूध राम्रै थियो त्यसैले खान योग्य हो भनेर भनेको हो । खासगरी दुग्ध विकास संस्थानले विराटनगरमा धूलो दूध उत्पादन गर्ने गरेका छौं । त्यो धुलो दूध उत्पादन गरेर हामीले बाहिर बजारमा बेच्ने गरेका छैनौं । विराटनगरमा उत्पादन गरेको धूलो दूधलाई हेटौडामा ल्याएर भण्डारण गर्ने र काठमाडौंको मागलाई सहज बनाईरहेका छौं । खासगरी पूर्वाञ्चल क्षेत्रमा गाई दूध संकलन गरेर हामीले धूलो दूध बनाउंदै आईरहेका छौं । त्यसमा गुणस्तरको कुनै शंका गर्ने ठाउं नै हुंदैन ।
० गुणस्तरमा शंका गर्ने ठाउंमा नहुदा पनि किन समस्या बाहिर आयो त?
खासमा कुरा के हो भने विगत तीन चार बर्ष अगाडिसम्म हामीले चारसय मेट्रिक टन धूलो दूध आयात गर्नु पर्दथ्यो । दुई बर्ष अगाडिदेखि हामीले दूधको मूल्य बृद्धि ग¥यौं र किसानहरुलाई पहिले पाएको मूल्यमा थप ५ रुपैयां प्रदान गरेका थियौं । किसानहरुलाई थोरैमूल्य थप दिंदा पनि नेपालमा आन्तरिक रुपमा नै दूध संकलन थप भयो । किसानका समस्या पनि हल भयो । दूध उत्पादन बृद्धि हुंदा धूलो दूध आयातमा पनि कमी आयो । दूध बढी उत्पादन हुने समयको दूधलाई संकलन गरी धूलो दूध बनाउने काम संस्थानले गरेको हो । त्यो धूलो दूधलाई दूध उत्पादन कमी हुने समय फागुनदेखि श्रावणसम्मको छ महिनाका लागि प्रयोग गर्ने गरेका छौं । उत्पादन गरेको केही समय पछाडि नै प्रयोग गर्ने गरेकाले लामो समयसम्म भण्डारण गरेर राख्नु पर्ने अवस्था आउंदैन । हामीलाई ८ देखि ९ सय मेट्रिकटन धूलो दूध आवश्यक पर्दछ भने ६ सय मेट्रिकटन विराटनगरबाट नै उत्पादन गरिरहेका छौं । अझ गतबर्ष भूकम्प पश्चात त दूध उपभोगमा कमी आएको धेरै दूध संकलन भएको थियो । त्यस्तो समस्याका बेलामा समेत किसानहरुलाई सहज होस् भनेर हामीले दूध संकलन गरी निजी डेरीलाई समेत धूलो दूध बनाउन लगायौं । त्यसकारण हामीले उत्पादन गरेको धूलो दूध गुणस्तरयुक्त छ भन्नेमा हामी ढुक्क छौं ।
० तर केही समय अगाडि सञ्चार माध्यममा म्याद गुज्रिएको धुलो दूध र बोराको कुरा पनि आयो नि ?
त्यो खास कुरा के हो भने गत बर्ष दूध धेरै संकलन भयो । भूकम्प र मधेशआन्दोलनका कारण निजी उद्योगीहरुले किसानहरुसंग दूध उठाउन नसक्ने भएपछि मिल्क होलिडेको अवस्था आउन लागेको थियो । त्यो अवस्थालाई हामीले किसानहरुले उत्पादन गरेको दूध जसरी भएपनि संकलन गर्नु पर्दछ भन्ने मान्यता राखेर दूध संकलन ग¥यौं तर दूधलाई सुरक्षित भण्डारण गर्नका लागि आवश्यक व्याय तोकिएको समयमा नाकावन्दीका कारण खरिद गर्न सकेना । किनभने धूलो दूधलाई सुरक्षित भण्डारण गर्नका लागि आवश्यक प्लाष्टिकका बोराहरु हामीले भारतबाट नै आयात गरी ल्याउने गर्दछौं । एकातिर दूध संकलन पनि गरि राख्नु पर्ने अर्कोतिर सुरक्षित भण्डारण गर्नका लागि बोराहरु पनि हामीसंग नयां लेवल छपाइएका बोरा नभएको अवस्थाले हामीसंग मौज्जाद रहेको व्यागलाई नै प्रयोग गर्ने संस्थानले निर्णय गरेको हो । त्यसले गर्दा पुराना व्याग प्रयोग गर्ने शर्त अनुरुप नै त्यो काम भएको हो । बोराको पुनः प्रयोगका लागि पुरानो मिति भएको ट्याग हटाएर नयां लगाएको हो । कुनै कुनैमा नहटाई लगाएका कारण त्यस्तो देखिएको हो । बालाजुको अनुगमनका क्रममा त्यो फेला परेको हो । र अनुगमन टोली जिल्ला प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, उपभोक्ताबादी संस्थाहरुले केही त्रुटि छ कि भन्ने शंका गरेर शिल गरेर गएको भएपनि खाद्य प्रविधिले चेकजांच गरी अहिले दूधमा त्यसको प्रभाव केही पनि नरहेको प्रतिवेदन प्राप्त गरी जिल्ला प्रशासन,खाद्य प्रविधि गुण नियन्त्रण विभाग र उपभोक्तावादी संस्थाहै गएर शिल खोलिसकेको अवस्था छ । बाहिर जे प्रचारमा आए त्यो एकतर्फी ढंगले आएको देखिन्छ । तर संस्थानले आफ्नो कार्यक्रमहरु नियमित गरिसकेको छ । अवदेखि हामीले दोहोरो ट्याग लगाउंदैनौ भन्ने प्रतिवद्धता पनि व्यक्त गरिसकेको छौ ।
० त्यसो भए दुग्ध विकास संस्थानको उत्पादन खान योग्य छ भन्ने पुष्टि भयो ?
हो । संस्थानले उत्पादन गरेका सवै दूधजन्य उत्पादन विगतमा पनि योग्य थियो, अहिले पनि छ र भोली पनि शुद्ध, गुणस्तरीय उत्पादन हामी उपभोक्तालाई उपलब्ध गराउंछौं । सरकारको स्वामित्वमा रहेको यो संस्थानले कहिल्यै पनि म्याद गुज्रिएका कुनै पनि सामग्री प्रयोग गर्दैनौं । उपभोक्ताहरुले गर्नु भएको विश्वास निरन्तर छ । हामीले आफ्नो साख गिर्न दिएका छैनौं र दिंदैनौ पनि ।
० तर दुग्ध विकास संस्थानका उपभोक्ता प्रयोग गरिरहेका उपभोक्ताहरु त अझै अन्यौलमै छन् नि त ?
हामीले सिलबन्द गरेको भोलीपल्टै हामीले धूलो दूधको म्यादका गुज्रेको नभई प्याकिङ्ग गरिएको व्यागमा दोहोरो लगाइएको ट्याग (मिति उल्लेख गरिएको) मात्र भएको जानकारी सञ्चार माध्यमहरुबाट आम उपभोक्ताहरुलाई गराईसकेका छौ । त्यसपछि पनि हामीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट परिक्षण गरिसकेपछि पनि संस्थानको दूध तथा दूधजन्य उत्पादन गुणस्तरीय छन्, शुद्ध छन् भन्ने कुरा, र बाहिर आएका भ्रमका बारेमा सचेतना गराईसकेका छौं ।
० काठमाडौं लगायत दुग्ध विकास संस्थानको उत्पादन उपभोग गर्ने उपभोक्तालाई के भन्नु हुन्छ त?
दुग्ध विकास संस्थान नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको संस्था हो । हामी संस्थानमा काम गर्ने कर्मचारीहरु संस्थानप्रति, उपभोक्ताप्रति जिम्मेवार छौं । संस्थानले उपभोक्ताहरुलाई स्वस्छ र गुणस्तरीय उत्पादन गरिरहेकाले ढुक्कसंग संस्थानका उत्पादन प्रयोग गर्नका लागि आग्रह गर्दछौं ।– वैकुण्ठ भण्डारी

प्रकाशित मिति: आइतवार, भदौ २६, २०७३