शनिबार, जेष्ठ ५, २०८१

काभ्रेपलाञ्चोकमा ९७ लाख अण्डा उत्पादन

काभ्रेपलाञ्चोक, भाद्र । पशुपन्छी विकास मन्त्रालयले अण्डा, मासु र दूधमा क्रमश पहिलो, दोस्रो र तेस्रोबर्षभित्र आत्मनिर्भर हुने प्रतिवद्धता जारी गरेको केही महिनाको अन्तरालपछि काभ्रे जिल्लामा भएको कुखुरापालन सर्वेक्षणले ९७ लाख अण्डा उत्पादन हुने देखाएको छ ।
कुखुरापालन व्यवसायमा भएको लगानी पत्ता लगाउन र मासु तथा अन्डा उत्पादनबाट कुल ग्राहस्थ उत्पादनमा भएको योगदानबारे भएको व्यावसायिक कुखुरापालन सर्वेक्षणको नतिजा सार्वजनिक भएको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको सर्वेक्षणबाट काभ्रेपलाञ्चोकमा १०२५ ब्रोइलर, ४३ लेयर्स र १० ह्याचरी फार्मसहित एक हजार ७८ वटा फार्म सञ्चालनमा रहेको पाइएको छ । नेपालभर ६४ जिल्लामा भएको सर्वेक्षणले २१ हजार ९५६ व्यावसायिक कुखुरापालन फार्म भएको समेत तथ्याङ्कमा देखिएको छ ।
व्यावसायिक कुखुरापालन सर्वेक्षणबाट जिल्लामा मात्रै आठ हजार ५५६ मेट्रिक टन मासु (जिउँदो कुखुराको तौल) उत्पादन भएको अनुमान गर्दै नेपालभरबाट एक लाख १४ हजार ५८ मेट्रिक टन मासु उत्पादन भएको पनि सर्वेक्षणमा उल्लेख छ ।
तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले कुखुरापालन व्यवसायमा ठूलो लगानी भएकाले त्यसको तथ्याङ्क सार्वजनिक गर्न र अन्डा तथा मासुको उत्पादन पत्ता लगाउन पहिलो पटक व्यावसायिक कुखुरापालन सर्वेेक्षण भएको बताए । उनले व्यवसायीले कुखुरा घर निर्माण तथा दाना र चल्लाका लागि सरकारले अनुदान दिनुपर्ने, विदेशबाट गैरकानुनी रुपमा आयात हुने चल्ला खरिदलाई प्रतिबन्ध लगाउनुपर्नेलागयत १० बँुदे सुझाव दिएको जानकारी समेत उनले दिए ।
सो सर्वेक्षणबाट काभ्रेपलाञ्चोकमा मात्रै एक करोड ९६ लाख ७७ हजार गोटा अन्डा उत्पादन हुने गरेको र मासुका लागि कुखुरा बिक्रीबाट रु एक अर्ब ६४ करोड ७८ लाख ८८ हजार, अन्डा बिक्रीबाट रु १५ करोड ५४ लाख ४२ हजार र चल्ला बिक्रीबाट रु आठ करोड ७७ लाख २४ हजार आम्दानी गरेको तथ्याङ्कमा जनाइएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ ११, २०७३