शनिबार, जेष्ठ ५, २०८१

दलहन किसानको आकर्षण घट्यो

महोत्तरी,५ वैशाख । महोत्तरी जिल्लामा दलहन (दाल) बाली उत्पादनमा निक्कै कमी आएको छ । एकदशक अघिसम्म दालका लागि आत्मनिर्भर यस जिल्लामा अब दलहन बाली लगाउन छाडिएको देखिन्छ । रहर, चना (बदाम), मुसुरो, मुग, रहरिया (बकुल्ला), मास, केराउ र अन्य कोसेबाली लगाउन छाडिएपछि दालहन बाली उत्पादनमा कमी आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । करिब १० वर्ष पहिलेसम्म १० हजार मेट्रिक टन उत्पादन हुने गरेको दलहनबाली यसपाली एकहजार ३०० मेट्रिक टनमा झरेको कार्यालयका कृषिप्रसार अधिकृत बेचनप्रसाद साहले बताए । यद्यपि गत आवको तुलनामा चालु आवमा भने दलहन उत्पादन केही बढेको कार्यालयले जनाएको छ ।
गत वर्ष जिल्लामा दलहनबाली ८०० मेट्रिक टन मात्र उत्पादन भएको थियो । गतवर्ष ७६२ हेक्टर जग्गामा लगाइएको दलहन बालीको क्षेत्रफल पनि यसपाली भने थोरै बढेको छ ।
मुसुरो, मुग चनाजस्ता दलहनबाली उल्लेख नै गर्नेगरी नलगाइएको भए पनि रहर र बकुल्ला गरी यसपाली एकहजार ५०० हेक्टरमा दलहनबाली लगाइएको छ ।
यसपाली रहरमा राम्रो कोसा लागेकाले एक हजार एकसय २५ हेक्टरमा एकहजार १३ मेट्रिक टन उत्पादन भएको बाली विकास अधिकृत साहको भनाइ छ ।

प्रकाशित मिति: आइतवार, बैशाख ५, २०७३