शनिबार, जेष्ठ ५, २०८१

उनन्तीस करोडमा सिँचाइ नहर

इलाम, २ वैशाख । इलामको दक्षिणी महमाई गाविसमा करिब रु २९ करोडको लागतमा सिँचाइ आयोजना निर्माणका लागि सम्झौता सम्पन्न भएको छ । सिँचाइ नहर बन्ने भएपछि सिँचाइको समस्या झेल्दै आएका यहाँका किसानले सुविधा पाउने भएका छन् । महमाई–१ देखि वडा नं. ९ सम्मका करिब एक हजार २५० घरधुरीका लागि सिँचाइ विकास डिभिजन कार्यालय इलामले नहर बनाउने सम्झौता भएपछि यस क्षेत्रका किसानले सिँचाइ सुविधा पाउने भएका हुन् । यहाँका किसानलाई सिँचाइ सुविधा नहुँदा खेतीयोग्य जमिन बाँझै राख्नुपर्ने बाध्यता थियो ।
सिँचाइका लागि उपभोक्ता समिति र सिँचाइ विकास डिभिजन कार्यालयबीच ठ्याउरे खोला फ्याउरे सिँचाइ आयोजना बनाउने सम्झौता भएपछि नहर बन्ने पक्का भएको हो । नेपाल सरकार सिँचाइ विकास डिभिजन कार्यालयको कुल रु २८ करोड ९० लाखको लागतमा ३० किलोमिटर लामो सिँचाइ नहर निर्माण गर्ने गरी सम्झौता गरिएको उपभोक्ता समिति अध्यक्ष देवीभक्त कुमालले बताए ।

प्रकाशित मिति: बिहिबार, बैशाख २, २०७३